विराटनगर ।
इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलासहित पाँच जना प्रहरी विभागीय कारवाहीमा परेका छन् । हत्या आरोपमा हिरासतमा रहेका दुई थुनुवा फरार भएपछि छानविन गर्न गठन भएको टोलीको प्रतिवेदन अनुसार पाँच जना प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको हो भने तीन जनालाई भने मुद्दा दायर गरिएको छ ।
हिरासत कक्षको भेण्टिलेसनबाट थुनुवा फरार भएपछि तत्कालीन समयमा डिउटीमा रहेका तीनजनालाई निलम्बन गरी कारागार ऐन अन्तरगत मुद्दा दर्ता गरिएको हो । गत कात्तिक ८ गते राती डिउटीमा रहेका प्रहरी हवल्दार जिरालाल रौनियार, प्रहरी जवान सुरेश राजवंशी र जगन्नाथ बास्केलाई कारागार ऐन अन्तरगत ‘थुनुवा भगाएको’ मुद्दा दायर गरिएको हो । सो मुद्दामा तीनै जना जिल्ला अदालत मोरङको आदेशपछि धरौटीमा छुटेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार पाँच जना प्रहरीलाई प्रहरी ऐन २०१२ अनुसार विभागीय कारवाही गरिएको हो । कारवाहीमा पर्नेहरूमा प्रहरी निरीक्षक निरौलासहित प्रहरी नायव निरीक्षक डम्बर थापा, सहायक निरीक्षक पशुपति बस्नेत, जवान रिंकु मण्डल र अमित तामाङ छन् । थुनुवा फरार भएको दिन तत्कालीन इञ्चार्जसमेत रहेका प्रहरी निरीक्षक निरौला विदामा थिए ।
गत असोज १ गते विराटनगर १७ का १७ वर्षीय महम्मद अस्फाकको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका महम्मद सद्दिम हुसेन र महम्मद आरिफ आलम कात्तिक ९ गते बिहान रानी इलाका प्रहरी कार्यालय रानीको थुनुवा कक्षको भेन्टिलेसनको ६ वटा रड काटेर फरार भएका थिए ।
फरार भएका आलम र हुसेन अझै भेटिएका छैनन् । घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङका तत्कालीन डिएसपी निशान थापाको संयोजकत्वमा छानविन समिति गठन भएको थियो भने प्रदेश प्रहरी कार्यालयले छुट्टै छानविन समिति गठन गरेको थियो । दुबै छानविन समितिको प्रतिवेदनपछि आठ जनालाई कारवाही गरिएको हो । गत असोज दोस्रो साता पक्राउ परेका हत्या आरोपी हुसेन र आलमविरूद्ध दायर गरेको मुद्दामा कत्तिक ८ गते बिहीबार जिल्ला अदालत मोरङबाट आदेश आउने दिन थियो ।
८ गते पक्राउ परेको २४ दिन पुगेको थियो । बिहीबार मुद्दा हेर्दाहेर्दैमा रहेपछि अदालतले आरोपीलाई प्रहरी हिरासतमा नै पठाएको थियो । शुक्रवार बिहान अदालत उपस्थित हुनुपर्ने हत्या आरोपी राती नै फरार भएका थिए । कारागार पठाउनु पर्ने व्यक्ति प्रहरी हिरासतबाटै फरार भएपछि डिउटीमा रहेका तीन जनालाई कारागार ऐन अन्तरगत मुद्दा दायर भएको थियो ।











प्रतिक्रिया