विकास निर्माणको कामले तीव्रता पाउँछ: प्रम ओली

0
Shares

काठमाडौं(नेस) । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तिव्रता लिने बताउनुभएको छ ।

झापाका नेकपाका नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुसँग बुधबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कस्ले सञ्चालन गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको बताउनुभएको छ ।
“यस्ता द्विविधाले पुराना भन्दा नयाँ नयाँ योजना बनाउनेतिर सबैको ध्यान गयो प्रधानमन्त्री ओलीले भन्नुभयो–अब कस्ता योजना कस्ले सञ्चालन गर्ने भनेर स्पष्ट भइसकेकोले सबै योजनाहरु तिव्रताका साथ अगाडि बढ्छन् ।

प्रधानमन्त्री ओलीको गृह नगर दमकका प्रसासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाहरुको प्रगति बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।

दमक सभाहल निर्माणाधिन अवस्थामा रहेको,पशुहाट बजार केन्द्र सम्पन्न भएको ,दमक भू टावरको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भएको यसका लागि ५ विगाहा क्षेत्रफल जग्गा नगरपालिकाको नाममा आइसकेको उहांले जानकारी गराउनु भएको थियो । दमक औद्योगिक क्षेत्रको मुआब्जा वितरणको तयारी भइरहेको तिम्सिनाले जानकारी गराउनुभयो ।

यसैगरी दमक ३ मा निर्माण हुने विश्व कै अग्लो बुद्धको मूर्तीका लागि ७ विगाहा जग्गा नगरपालिकाको नाउँमा दर्ता भइसकेको , २० विगाहा जग्गा प्राप्तीका लागि झापा जिल्लाबाट सिफारीस गरी पठाएको तिम्सिनाले उल्लेख गर्नुभयो ।

सो आयोजनाको डिपिआर तयार भएको र दमक नगरपालिकाले जग्गा व्यवस्थापनका लागि आवश्यक समन्वय र पहल गर्न नगर प्रमुखको संयोजकत्वमा एउटा समिति बनाएको तिम्सिनाले जानकारी गराउनुभयो ।

यसैगरी दमक नगरपालिकाले सञ्चालन गरेका नगरपालिका भवन,शहिद बनबाटिका,घण्टाघर सहितको रोज गार्डेन ,विपन्नका लागि नमुना आवास गृह निर्माण,सुनचाँदी टावर निर्माण आदिका बारेमा भएको प्रगति तिम्सिनाले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको छ ।

कन्काइ नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले सुरुंगा –झापा सडक,लक्ष्मीपुर – घेराबारी सडक निर्माणका लागि आवश्यक रकम विनियोजन गरिदिन माग गर्नुभएको छ । पोख्रेलले कनकाइमा २५ शैयाको अस्पताल निर्माण र पर्यटकीय पूर्वाधारका लागि कम्तीमा १ करोड रुपैंया विनियोजन गरिदिन माग गर्नुभएको छ । यसैगरी अर्जुनधारा नगरपाकिलाका प्रमुख हरी रानाले पनि नगरको विकास निर्माणका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले झापाली जनप्रतिनिधीहरुले राखेका मागका बारेमा आफू सकारात्मक रहेको बताउनुभएको छ ।

प्रतिनिधी मण्डलमा नेकपाका केन्द्रीय सदस्य नरेश खरेल र देवेन्द्र दाहाल साँसद पवित्रा निरौला खरेल,पूर्व साँसद दीपक कार्की ,जिसस झापाका संयोजक सोमनाथ पोर्तेल दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली,नेकपाका नेताहरु चिन्तन पाठक,गगन पुरी लगायत सहभागी हुनुहुन्थ्यो ।