डा. गोविन्द केसीको सत्याग्रह स्थगन

0
Shares

गणेश घिमिरे, इलाम
साेह्राैं चरणको सत्याग्रहको तयारी गरेका डा. गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् । सत्याग्रहकै लागि इलाम आएका डा.केसीले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गरी संघीय संसद्को संसदीय समितिलाई सातदिन भित्र बिगतमा गरेका सम्झौता कार्यन्वयन गर्न सातदिनको समय दिएर सत्याग्रह स्थगन गरेको बताए ।

चिकित्सा क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत डाक्टर केसीले आफू सत्याग्रह बस्नकै लागि इलाम आएको बताए । तर संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले कम्तीमा दुईदिन अनशन नबस्न आग्रह गरेपछि आफूले नै एकहप्ताको समय दिएर पर्खिने निर्णयमा पुगेको बताए ।

बिगतमा गरेका सम्झौता कार्यान्वयन गर्न सरकारलाई एकहप्ते अल्टिमेटम

बुधबार संसदीय समितिमा चिकित्सा शिक्षा विधेयकमा छलफल भएको र छलफल केही दिन लम्बिने भन्दै सभापति घर्तीले पर्खिन आग्रह गरेको डाक्टर केसीले सुनाए । सभापतिले हाम्रा एक अभियन्तालाई फोन गरेर अनशन केही दिन स्थगित गर्न आग्रह गरेको र साउन १० को सहमति अनुसारै ऐन ल्याउन पहल भइरहेको भनेकाले सत्याग्रह स्थगित गरेको पत्रकार सम्मेलनमा बताए । मंगलबार इलाम आएका डा.केसीले इलाममा १६ औंं सत्याग्रह बस्ने तयारी गरेर स्थल खोजी गरेका थिए ।

१५औं पटक जुम्लामा २७ दिन आमरण अनशन बसेका बेला डा.केसीले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा पनि सरकारी मेडिकल कलेज खोल्न माग राखेका छन् । ‘राजधानीबाहिरका यी जिल्लामा सरकारी मेडिकल खोल्नुपर्ने आफ्नै चौथौ अनशनदेखिकै माग रहेकाले इलाम आएको हुँ’, उनले भने– ‘अब पनि माग पूरा भएन भने इलामबाटै सत्याग्रह बसेर अन्तिम लडाइँ लड्ने चेतावनी दिन्छु ।’ गत साउन १० मा डा.केसीका प्रतिनिधि र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो ।

आगामी १० वर्षभित्र काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धन पर्खिरहेका काठमाडौंका मेडिकल कजेल सरकारले किनिदिएर काठमाडौंबाहिर जान सहजीकरण गर्नेलगायतका २२ बुँदामा त्यतिबेला सहमति भएको थियो । डा.केसीले पहिला भएको सहमति कार्यन्वयन गर्न दिएको अल्टिमेटम पुस १७ लाई थियो । त्यस समयमा पनि सहमति कार्यन्वयन नभएपछि केसी इलामबाट अन्तिम लडाइँ लड्ने भन्दै सत्याग्रहका लागि मंगलबार इलाम आइपुगेका थिए ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न पनि केसीले माग गरेका छन् । यस्तै केसीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनका साथै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन माग गर्दै आएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै केसीले जनतामुखी र बिद्यार्थीमुखि ऐन ल्याएरै छाड्ने बताए । ‘अबको लडाइँ ऐनको लागि मात्र नभएर शुसानको पनि हुनेछ’ केसी भन्छन् ‘जवसम्म ऐन बन्दैन तबसम्म जतिपटक पनि आफू अनसन बस्न तयार छु ।’ नागरीकको हैसियतले आफूले धर्म निभाएको जनाउने डाक्टर केसीले देश लुटेर मेडीकल कलेजमा लगानी गरी शिर्षस्थ नेताले कालो धनलाई सेतो बनाउन खाजेको आरोप लगाए । अहिले माफियातन्त्र, अपराध र भ्रष्टचार संस्थागत रुपमा बढ्दै गएको प्रति पनि डाक्टर केसीले चिन्ता ब्यक्त गरेका थिए ।