१२ वर्षमै आमा !

0
Shares

हेटौंडा ।
१२ वर्ष उमेरकी किशोरीले छोरी जन्माएकी छन् । काठमाडौं थापाथलीस्थित प्रसूतिगृहमा उनले बुधवार दिउँसो करिब सवा ३ बजे छोरी जन्माएकी हुन् ।

कम उमेर भएकाले शारीरिक अंगहरुको विकास नभएको भन्दै उनलाई शल्यक्रिया गरी शिशु जन्माइएको हो । ‘शल्यक्रिया सफल भयो, भाञ्जी जन्मेकी छिन् भन्ने जानकारी आयो,’ मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–३, औलेकी गंगामाया चेपाङका दाइ एकराजले भने ।

२ किलो ९ सय ग्रामको शिशु र आमाको स्वास्थ्य अबस्था सामान्य रहेको एकराजले जानकारी दिनुभयो । १२ वर्षमा गर्भवती भएको समाचार नेपाल समाचारपत्रले प्रकाशन गरेको थियो ।

समाचार प्रकाशनपछि प्रधानमन्त्री कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् उनलाई काठमाडौंको थापाथलीस्थित प्रसूतिगृह लगेको थियो । एक महिना अघिदेखि गंगा र उनकी आमा काठमाडौं रहँदै आएका थिए । राक्सिराङ–३, पलाँसेस्थित सूर्याेदय माविमा कक्षा–४ मा पढ्दै गर्दा मामाघर जाने क्रममा कैलाश गाउँपालिकाको भार्ताका रञ्जितसँग उनको प्रेम बसेको थियो ।
२०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका रञ्जितसँग उनको भागी बिहे भएको थियो । मामाघर जाँदा चिनजान भएका केटासँग ‘मन मिलेपछि’ तत्काल बिहे गर्ने सोच बनाए ।

चिनजान र मन परापर भएको २ महिना नबित्दै बिहे गरेकी गंगालाई आफूसँगैका साथी खेल्ने र रमाइलो गर्ने गरिरहँदा उनी भने ठूलो पेट लिएर लाज मानेर बस्नुपरेको थियो । उनले ‘बिहेवारि बीस वर्षपारि’ भन्ने नारालाई चुनौती दिएकी छन् । गंगा आउने भदौ २२ मा १३ वर्ष पूरा हुनेछिन् ।

कक्षा–४ मा पढ्दै गरेकी गंगा र ३ कक्षामा पढ्दै गरेका उनका पतिको बिहेपछि पढाइ छुट्यो । गंगा, राक्सिराङ–३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्थिन् भने उनका पति कैलाश–७ मा पढ्थे । गंगाकी जुम्ल्याहा बहिनी जमुना स्थानीय सूर्याेदय माविको ६ कक्षामा अध्ययनरत् छिन् ।