सुप विश्वविद्यालयः उपकुलपति र रजिष्ट्रारबाट करोडौंको अनियमितता

94
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारले करोडौंको आर्थिक अनियमितता गरेको पाइएको छ । विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ र रजिस्ट्रार द्धिजराज भट्टले विभिन्न शीर्षकमा नभएको खर्च देखाई, बढि रकम भुक्तानि गरेको खुलेको छ । शिक्षक, कर्मचारीको नियुक्ति विवादले चौतर्फी आलोचनामा रहेको विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारले भ्रमण खर्च तथा कानुनी खर्च लगायतका अन्य शीर्षकमा गर्दा करोडौंको अनियमितता गरेको तथ्य खुल्न आएको हो ।

काठमाडौंमा बसेर तलब भत्ता मात्रै दोब्बर, तेब्बर पचाई रहेका उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्टले सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा के कस्ता गतिविधि तथा घटनाहरु घटिरहेका हुन्छन उनिहरुलाई कुनै जानकारी नै हुदैन् ।

“वार्षीक ३५ देखि ४० लाख भ्रमण खर्च !

बर्ष दिनमा २, ३ चोटी मात्र केन्द्रीय कार्यालय मेहन्द्रनगर पुग्ने गरेका उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्ट लगायतका अन्य दुई जना सदस्य गरि काठमाण्डौं सम्पर्क कार्यालयका चार जनाले भ्रमणको नाममा बार्षीक लाखौं रकम कुम्ल्याउने गरेका छन् ।
प्रति महिना १४ दिन भ्रमण गरेको देखाउदै उपकुलपति भुषण श्रेष्ठ र रजिष्ट्रार द्धिजराज भट्टले बार्षीक ३५ देखि ४० लाख सम्म कुम्ल्याउने गरेको पाइएको छ । जो कि उपकुलपति र रजिष्ट्रार भट्ट बर्षमा तीन, चार चोटीमात्र महेन्द्रनगर अर्थात केन्द्रीय कार्यालय आएको पाइएको छ । चार पटकको आउदा जाँदाको लाग्ने खर्च भनेको बढिमा चार लाखमात्र हो ।

प्रत्येक महिनाको १४/१५ चोटी भ्रमण गरेको फर्जी बिल पेश गरेर सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका नाममा रकम कुम्ल्याइ रहेका छन् । आर्थिक बर्ष ०७३/७४ मा भ्रमण खर्च ३३ लाख ५५ हजार रकम बुझेका थिए भने गत आर्थिक बर्षमा ३५ लाख भ्रमण खर्चका नाममा उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्टले पैसा कुम्ल्याएका छन् ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्रिन्सिपल भुपेन्द्र बिष्टलाई पनि उपकुलपति र रजिष्ट्रारको ‘साइड इफेक्ट’ परेको कुरा पिडित प्राध्यापकहरुको गुनासो छ ।

एक व्यक्तिलाई कानुनी खर्चका नाममा १७ लाख चढाईयो”

भ्रमण खर्चमा मात्रै अनियमितता गरिएको छैन, कि विश्वविद्यालयमा हुने हरेक क्रियाकलापहरुमा थुप्रै करोडौं रुपैंयाको चलखेल तथा अनियमितता गरेको पाइएको छ ।

विश्वविद्यालयले गत आर्थिक बर्षमा कानुनी खर्चमा १७ लाख १५ हजार खर्च गरेको तथ्याङ्क छ जहाँ विश्वविद्यालयका वकिललाई मासिक ३५ हजारका दरले तलब दिने गरिन्छ । कुनै मुद्धा तथा अन्य कार्यले वकिलले यहाँ आए वाफत थप २५ हजार भत्ता दिने व्यवस्था छ । विश्वविद्यालयका वकिल टंक दुलाल दुई पटक मात्रै यहाँ आएको स्रोत बताउछ ।

वकिल दुलाललाई गत आर्थिक वर्षमा १७ लाख १५ हजार रुपैंया दिइएको तथ्याङ्कमा उल्लेख छ । बार्षीक रुपमा दुलालको तलब ४ लाख २० हजार तथा भत्ता ५० हजार गरि जम्मा ४ लाख ७० हजार मात्रै दिनुपर्ने हुन आउछ । तर टंक दुलाललाई उपकुलपति र रजिष्ट्रारकै मिलोमतोमा झण्डै १३ लाख कुम्ल्याएको देखिन्छ ।

विभिन्न शीर्षकका नाममा महिनै पिच्छे लाखौं, करोडौं रकम कुम्ल्याउने गरेका हरेक तथ्यहरु स–प्रमाण हामीलाई प्राप्त भएका छन् । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको हरेक गतिविधिको नेपाल समाचारपत्रले निरन्तर फ्लोअप गर्दै आएको छ ।