अंग्रेजी नयाँ वर्षमा होटल तथा रिसोर्टमा आन्तरिक पर्यटक खचाखच

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अंग्रेजी नयाँ वर्ष २०१९ को सन्दर्भमा आन्तरिक पर्यटकले पर्यटकीय क्षेत्रका होटल भरिएका छन् । अवसर मिलाएर मनोञ्जन गर्ने रुचाउने पंक्ति बढ्दै गएपछि पछिल्ला केही वर्षयता अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन नेपालमा विकास हुँदै गएको छ । जसका कारण नयाँ वर्षलगायतका अवसरमा शहरभन्दा बाहिरका होटलमा आन्तरिक पर्यटकको उपस्थिति बाक्लो हुँदै गएको हो ।

होटल संघ नेपालका महासचिव विनायक शाहले पछिल्लो समयमा आन्तरिक पर्यटनको उत्साहजनक रूपमा घुमफिर गर्ने संस्कृतिको विकास भएको बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै शाहले भन्नुभयो–‘समग्रमा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर आन्तरिक पर्यटकले ६० देखि ६५ प्रतिशतसम्म होटल बुक गरेका छन् ।

अन्य समयमा ७० प्रतिशत बाह्य र ३० आन्तरिक पर्यटकले धान्ने गरकोमा अंग्रेजी नयाँ वर्षमा भने आन्तरिक पर्यटकको सहभागिता बढेको छ । विशेषगरी शहरी कोलाहलभन्दा अलि बाहिर गएर मनोञ्जन गर्न रुचाउने भएकाले शहरी क्षेत्रभन्दा छेउछाउका होटल, रिसोर्ट, रेष्टुरेन्टहरुमा चाप बढेको व्यवसायीहरुको भनाइ छ । त्यसबाहेक पोखरा, सौरहा, दामन, धुलिखेल, नगरकोट, धान्द्रुक, लुम्बिनी, इलाम, धनकुटालगायतका गन्तव्यमा आन्तरिक पर्यटकले भरिएका छन् ।

नगरकोटका होटल अंग्रेजी नयँँ वर्षको अवसरमा ७० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकले भरिएको व्यवसायीले जनाएका छन् । नजिकको गन्तवय भएकाले काठमाडांैका आन्तरिक पर्यटकको पहिलो रोजाईमा नगरकोट पर्न गरेको व्यवसायीहरुको भनाइ छ ।

यस्तै अर्को पर्यटकीयस्थल पोखरा अंग्रेजी नयाँ वर्षको आगमनससँगै पर्यटकले भरिभराउ छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै होटेल तथा रेष्टुराँलाई सेवा प्रवाह गर्ने समस्या भएको व्यवसायीले बताएका छन् । पोखरामा ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक रहेको बताइएको छ।

अंग्रेजी नयाँ वर्षका अवसर पारेर विभिन्न ठाउँमा मेला, महोत्सव तथा स्किमहरु आयोजना गरिएका कारण पनि आन्तरिक पर्यटक आकर्षित भएका हुन् । क्रयशक्ति बढ्दै जानु र घुमफिर गर्ने संस्कारको विकास हुँदै गएपछि त्यस्ता सन्दर्भहरु व्यवसायीका निम्ति अवसर हुने गरेका छन् ।

होटल संघ चितवन च्याप्टर सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार अंगे्रजी नयाँ वर्षमा सौराहाका सम्पँर्ण होटल प्याक हुने गरेको बताउनुभयो । घिमिरेका अनुसार अरु समयमा ७० प्रतिशत बाह्य र ३० प्रतिशत आन्तरिक पर्यटक हुने गरेकोमा अहिले ठ्याक्कै उल्टो छ ।