अस्पतालको जासुसी गरेको भन्दै कर्मचारीलाई निष्काशन गर्ने मेयरको धम्की

0
Shares

कोरिया नेपाल अस्पतालमा बेथिति बढ्दै

भक्तपुर । जनप्रतिनिधिको बाहालीपछि अस्पताल र कर्मचारीको विकास हुन्छ भन्ने आशामा रहेका मध्यपुरथिमिको नेपाल कोरिया मैत्री नगरपालिका अर्थात कोरिया नेपाल मैत्री अस्पतालका कर्मचारीले ठिक उल्टो नतिजा भोग्नु परेको छ । अस्पताललाई विस्तारै विकास र समद्धिमा लैजाने काम भईरहेको बेलामा आएका जनप्रतिनिधीका कारण कर्मचारीमा उत्साह थपिए पनि जनप्रतिनिधि आएको एकवर्षमै कर्मचारी त्राहीमाम भएर बस्नु परेको यहाँका कर्मचारीले गुनासो गरेका छन् ।

अस्पतालभित्रको बेथितिका सम्बन्धमा समाचार प्रकाशन भएपछि अस्पताल सुधार गर्नेतर्फ चासो दिनुको साटो नगरपालिकाका मेयर तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले अस्पतालका कर्मचारीलाई जासुसको आरोप लगाउदै मध्यपुरथिमि नगरपालिकाका मेयर आफैले कर्मचारीलाई कारबाही गर्ने र निष्काशन गर्ने धम्की दिएपछि कर्मचारीहरु त्राहीमाम बनेका हुन् ।

एकसाता अघि बिभिन्न संचार माध्यमले कोरिया नेपाल अस्पतालको बेथितिकाबारेमा समाचारहरु प्रकाशित गरेसंगै मेयर श्रेष्ठ र मेयरले भित्र्याएका अस्पतालका कार्यकारी निर्देशक ज्ञानकृष्ण कायस्थ समेतले अस्पतालका कर्मचारीलाई कायस्थको कार्यकक्षमा बोलाएर कारबाही गर्ने धम्कि दिएको कर्मचारीहरुले बताए । कर्मचारीहरुले भने–“मेयर र निर्देशकले हामीलाई एक–एक गरि बोलाए, यहाँका खबरहरु पत्रकारलाई भन्ने र बाहिर लैजाने को हो, छानबिन गर्छौ र एकएकलाई कारबाही गर्छौ भन्दै धम्क्याए, हामीलाई काम गर्नै सास्ती पर्र्यो ।”

विगतमा कोरिया सरकारको सहयोगमा संचालन हुदै आएपनि हाल मध्यपुरथिमि नगरपालिकाको कब्जामा आएको यो अस्पतालमा मेयर नै बोर्डको अध्यक्ष भएपछि आफ्ना आफन्त र नातेदारलाई भर्तिकेन्द्र बनाएपछि अस्पताल लथालिङ्ग भएको कर्मचारीको गुनासो छ । काँग्रेसका नेताहरुसंग मिलेमतोमा मेयर श्रेष्ठले अस्पतालको सेवा समेत ध्वस्त बनाएको कर्मचारीको गुनासो छ ।

मन्त्रालय एवं स्वास्थ्य सेवा विभागमा अहिलेसम्म पनि कोरिया नेपाल मैत्री अस्पतालको नाम रहे पनि मेयरले जबरजस्ती नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नाम राखेदेखी नै विवाद तानिएका छन् भने अहिले दर्ता विना नै फार्मेसी सञ्चालन गरेपछि अर्को विवादमा मुछिएका छन् ।

नगरपालिकाले अस्पताल सञ्चालन गर्ने भन्दै आ.ब. ०७५÷०७६ मा १ करोड रकम बिनियोजन गरेको छ । तर, मेयर मदनसुन्दरले नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मीलाई अस्पताल सञ्चालक समितिको सदस्य वा आमन्त्रित सदस्य समेत नराखेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएकी छन् । उपमेयर मधिकर्मीले अस्पतालमा मेयरले मनोमानी गरेको र उनकै बदनियतका कारण आफुलाई सञ्चालन समितिमा सदस्य राख्न समेत नमानेको बताइन् ।

उनले भनिन्, ‘अस्पताल नगरपालिकाले नै चलाएको हो, आ.ब. ०७५/०७६ मा नगरपालिकाले अस्पताल सञ्चालनको लागि १ करोड बिनियोजन गरेको छ तर, म उपमेयरसँग अस्पताल सञ्चालनका बिषयमा कुनै छलफल भएको छैन । मेयरसँग पटक–पटक उपप्रमुखलाई पनि अस्पताल सञ्चालक समितिको सदस्य वा आमन्त्रित सदस्य बनाउन आग्रह गर्दापनि वेवास्ता गरिराख्नुभएको छ । उहाँले नियतवस मलाई समितिमा राख्न चाहनुभएको छैन् । त्यहाँ लापरवाही भइरहेको छ भन्ने मैले पनि सुनेको छु ।

कुनै पनि अस्पताल वा सार्वजनिक संस्था सञ्चालन गर्दा नियम कानुन टेकेर काम गर्नुपर्ने हो । तर, त्यसो भएको छैन् । त्यहाँ हुने कुनै पनि गतिविधि र कार्यक्रममा मलाई बोलाउने गरेको छैन् र म जाने पनि गरेको छैन् ।’

मेयर मदन सुन्दरले आफ्ना नातेदार पर्ने पाटन अस्पतालका आईसियू इन्चार्ज रहेका ज्ञानकृष्ण कायस्थलाई अस्पतालको कार्यकारी निर्देशक नै बनाए पछि व्यापक रुपमा आर्थिक चलखेल भएको कर्मचारीको भनाई छ ।

कायष्थले अस्पताल प्रशासन विज्ञका रुपमा हप्तामा ४ दिन २० हजार मासिक तलब खानेगरि प्रकाश खड्कालाई नियुक्त गरेपनि अस्पताल सुधार हुनुको सट्टा भद्रगोल बन्दै गएको कर्मचारीको गुनासो छ । तर, अस्पतालका प्रशासन बिज्ञ प्रकाशचन्द्र खड्काले अस्पतालको सुधार गर्नकै लागि कार्यकारी निर्देशकले आफुलाई अस्पताल बिज्ञका रुपमा नियुक्त गरेको बताउदै अहिले अस्पतालमा सुधार भएको दाबी गरे । उनले भने, ‘हप्तामा ४ दिन हाजिर गर्नेगरि २० हजार मासिक तलबमा कार्य गरिरहेको छु ।

मैले मेरो घरायसी समस्याका कारण एक बर्षको तलब २ लाख ४० हजार लिएको हुँ । त्यसमा ४ महिनाको अग्रिम तलब पनि परेको छ । मेरो यहि पुष मसान्तसम्म मात्र करार अवधि रहेको छ । अस्पतालले चाहेको खण्डमा करार सम्झौता थप गर्न पनि सक्छ । तर, मिडियामा आएजस्तो अस्पतालको अवस्था बिग्रिएको छैन् । अस्पतालको सुधार भएको छ ।’ बिज्ञ खड्काले अस्पतालले सञ्चालन गरेको फार्मेसी दर्ता नभएको र कर्मचारी दरबन्दी सम्बन्धी नीतिगत व्यवस्था नभएको स्विकार गरे । उनले अहिले फार्मेसी दर्ता गर्ने र दरबन्दीसम्बन्धी नीतिगत व्यवस्था गर्ने काम शुरु गरेको बताए ।

अस्पतालका कार्यकारी निर्देशक कायस्थले बि फार्मेसी गरेका डाक्टरलाई जिम्मेवारी नदिई पाटन अस्पतालमा फार्मेसी असिस्टेण्डका रुपमा काम गरि रिटायर्र भएका भुवन प्रजापतिलाई फार्मेसी ईन्चार्ज बनाएको र उनकै छोरा ओम प्रजापतिलाई आईटि ईन्जिनियरमा नियुक्ती दिएपछि फार्मेसीमा समेत मोटो कमिसनको खेल भएको बताएका छन् ।

कायस्थले भुवनलाई मासिक ३० हजार र ओमलाई मासिक ३५ हजार तलब खुवाएको नियुक्ती दिएको र पाटन अस्पतालमा एक्सरेको डार्क रुममा काम गर्ने गोकुल सापकोटालाई एक दिन मात्रै आएर काम गर्ने गरि मासिक २० हजार तलब खानेगरि अस्पतालको टेक्निकल एडभाइजरको नियुक्ती दिएर सरकारी सेवा, सुविधा भन्दा बढी दिएको कर्मचारी बताउँछन् ।

कायस्थले अस्पतालमा अनावश्यक कर्मचारी पनि थपेको गुनासो बढेको छ । उनले अफिस असिस्टेण्ड १४ जना, ल्याबमा र डाक्टरमा गरि ८० कर्मचारी करारमा भर्ना गरेर अस्पतालाई करोडौको भार बोकाएका छन् । कायस्थले त मासिक २० हजार तलब दिनेगरि बायो मेडिकल ईन्जिनियरका रुपमा मोनाश्री कठायतलाई अबैध रुपमा नियुक्ती गरेका कर्मचारी भन्छन् । एक कर्मचारीले भने–“अस्पतालको आयश्रोत छैन ।

अस्पतालको ऋण १ करोड ४८ लाख पुगेको र नगरपालिकाले अस्पताललाई दिन्छु भनेको सात करोडको ऋण समेत नदिएको कर्मचारीको भनाई छ । विमाबाट १ लाख ४० हजार आउने गरेकोमा, त्यो रकम पनि नआएपछि समस्या परेको र पुराना डाक्टरले तीन महिनादेखि तलब नदिएको तथा आफूले ल्याएका नयाँ डाक्टरलाई भने मासिक तलब खुवाएको कर्मचारीको गुनासो छ ।

अस्पतालमा अहिले कन्सल्टेण्ड डाक्टर मात्रै ४८ जना भन्दा रहेको बताउँछन् कर्मचारी । लेखा र स्टोरमा मेयर आफैले दुई कर्मचारी थपेका छन् । फार्मेसीमा विमाका औषधि नपाइने गरेको, कर्मचारीलाई समेत औषधिमा फार्मेसीले छुट नदिएको, विरामीलाई पनि छुट नदिने गरेको नेपाली र सस्ता कम्पनीका औषधि ल्याएर राखेको बताउने कर्मचारीले औषधिमा मात्रै १ करोड २५ लाख ४५ लाख उधारो गईसकेको बताउँछन् । औषधि व्यबस्था विभागमा दर्ता नै नगरी फार्मेसी चलाइएको छ । निर्देशक कायस्थले अस्पतालको डाक्टरलाई आफ्नै आमाको थेरापी गराउन घरमै लगेर पदीय दुरुपयोग गरेको अस्पतालले खुलासा गरेको छ । अस्पतालका प्राबिधिक कर्मचारीलाई दैनिक रुपमा कायस्थले घरमा लैजाने र आमाको थेरापीमा घण्टौ अलमलाउने गरेको कर्मचारी बताउँछन् ।

तर, कार्यकारी निर्देशकले भने अस्पतालमा बेथिति बढेको अस्विकार गरे । उनले अस्पतालमा पहिलेको भन्दा २० गुणा बिरामीको संख्या बढेकाले कर्मचारीको संख्या बढाउनुपर्ने अवस्था भएकाले कर्मचारी भर्ना गरिएको बताए । उनले भने, ‘अस्पतालमा दैनिक ४–५ सय विरामी आउँछन् त्यसकारण डाक्टर, नर्स र अन्य कर्मचारी भर्ना गर्नु ठुलो कुरा होइन् । अस्पतालमा यत्ति नै दरबन्दी हुने भन्ने व्यवस्था छैन् । मेयरसाव र म बसेर आवश्यकताका आधारमा कर्मचारी भर्ना गर्ने हो ।

यसमा किचलो गर्नुपर्ने बिषय नै के छ र ?’

उनले कमचारीलाई पहिलेको भन्दा बढि तलबको व्यवस्था गरेको र सबै कर्मचारीलाई समयमै तलब पनि दिंदैं आएको दाबी गरे । कायस्थले भने, ‘केही पुराना कर्मचारी अस्पताल बिगार्न सक्रिय बनेका छन् । त्यहिकारण अस्पतालका सूचना पनि तिनै कर्मचारीले दिने गरेका छन् । अस्पतालले सञ्चालन गरेको फार्मेसी दर्ता नभएको साँचो हो । हामी दर्ताको प्रक्रिया गर्दैछौं । एक्सरे प्रिन्टर मेसिन बिग्रिएपछि कर्मचारीले बनाउन चासो दिएनन् । त्यहि भएर साढे चार लाखमा नयाँ मेसिन खरिद गरिएको हो ।

मलाई अस्पतालको सुधार गर्न र स्तरोन्तती गर्न मेयरसावले ल्याउनुभएको हो । मैले यहाँ स्वयम्सेवकका रुपमा हप्तामा १ दिन बुधबार समय दिएको छु । म आएपछि अस्पतालमा सुधार भएको छ । तर, पुराना कर्मचारी अस्पताल राम्रो भएको देख्न नचाहने भएका कारण पनि यस्तो किचलो गरिरहेका छन् ।’

यता अस्पतालमा भईरहेको बेथितिका बिषयमा कुरा गर्न नगरपालिका मेयर तथा सञ्चालक समिति अध्यक्ष मदनसुन्दर श्रेष्ठसँग ९८६३३१३०९५ नम्बरबाट पटक–पटक सम्पर्क गर्दा पनि उनले मोवाइल उठाएनन् ।