सामाजिक सञ्जाल मार्फत ‘पार्सल आयो’ भन्दै ठगी गर्ने २ जना समातिए

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सामाजिक सञ्जाल फेसवुक, ह्वाट्स एप, भाइबर र इमो मार्फत ‘तपाईँको नाममा पार्सल आएको छ’ भन्दै म्यासेज गरेर लाखौं ठगी गर्ने एक विदेशी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आईभरीकोष्टका ओवात्तारा अल्लाकाग्नी र नेपाली महिला कुसुम कायस्थ रहेका छन् ।

काठमाडौंको पेप्सिकोलामा फ्ल्याट लिएर लिभिङ टुगेदरमा बस्दै आएका कुसुम र ओवात्ताराले १४ लाख ३४ हजारभन्दा बढी ठगी गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।उनीहरुलाई आइतबार काठमाडौंको पेप्सिकोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । भारतीय नम्बरबाट भाइबर, इमो तथा ह्वाट्सएप मार्फत अपरिचित व्यक्तिहरुलाई सम्पर्क गर्दै ‘तपाईँको नाममा आएको पार्सल लिनका लागि चार्ज तिर्नुपर्छ’ भन्दै बैंकको खातामा पटक–पटक रकम जम्मा गर्न लगाएर उनीहरुले ठगी गर्ने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

अपरिचित व्यक्तिहरुलाई विभिन्न आश्वासन देखाएर पटक–पटक बैंक खातामा रकम जम्मा गर्न लगाएर उनीहरुले ८ जना ब्यक्तिहरुबाट लाखौं ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कायस्थ र अल्लाकाग्नी बिरुद्ध ठगी मुद्धामा म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।