शिक्षकलाई जागिरे मानसिकता त्याग्न अध्यक्ष तिमिल्सीनाको आग्रह

0
Shares

नेपाल समाचारपत्र , पर्वत ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शिक्षकहरुलाई जागिरे मानसिकता त्याग्न आग्रह गर्नुभएको छ ।

पर्वतको जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविले ७१ औ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजना गरेको मुलसमारोहमा अध्यक्ष तिमिल्सीनाले शिक्षकहरुलाई जागिरे मानसिकता त्यागेर बिद्यालय शिक्षाको स्तर माथि उकास्न जिम्मेवार हुन आग्रह गर्नुभएको हो ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म जागिरको रुपमा मात्रै नभइ अतिरिक्त समय दिएर भएपनि कमजोर विद्यार्थीहरुको सिकाइमा सुधार ल्याउन शिक्षकहरुले पहल गर्नुपर्ने अध्यक्ष तिमिल्सीनाको भनाई थियो ।

‘सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न सके धेरै योग्य जनशक्ति तयार गर्न सकिन्छ ।’ अध्यक्ष तिमिल्सीनाले भन्नुभयो ‘अत्तिरिक्त समयमा पढाएर पनि कम्जोर बिद्यार्थीलाई सक्षम बनाउन लाग्नुपर्छ।’ उहाँले स्वअध्ययन र सूचना प्रबिधिको प्रयोग गरेर अध्यापन गराउनुपर्ने उहाँले बताउनुभयो ।

विद्याज्योतीमा प्राबिधिक विषयको पठनपाठनका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्दै आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष तिमिल्सीनाले आफ्नो कार्यकालभित्र जलजला गाउँपालिकाको मुख्य मिलनचोक–शालीजा र वारिबेनी–मल्लाज–लेकफाँट सडक कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले बगरफाँट देखि सुन्तला गाउँको रुपमा परिचित बाँसखर्क जोड्ने सडक स्तरोन्नतीका लागि ठेक्का प्रक्रिया अघि बढीसकेको जानकारी दिनुभयो । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले प्राथमिकता दिएको बताउनुभयो ।

मल्लले जलजला गाउँपालिकामा रहेको कृषि र पशुपालनको सम्भावनालाई आर्थिक सम्बृद्धीमा रुपान्तरणका लागि आवश्यक पूर्वाधार निर्माणमा केन्द्रित भएको बताउँदै शिक्षा, स्वास्थ्य जस्ता जनताको आधारभुत आवश्यकताप्रती संवेदनशिल रहेको बताउनुभयो ।

सो अवसरमा अध्यक्ष तिमिल्सीनाले मल्लाजका अगुवा लालबहादुर अधिकारी र उहाँकी श्रीमती हेमकुमारी अधिकारीले विद्याज्योती माविमा निर्माण गर्नुभएको प्रवेशद्धारको पनि उद्घाटन गर्नुभयो ।

मल्लाजका रामचन्द्र आचार्यको परिवारले स्थापना गर्नुभएको बिष्णुहरी छात्रवृत्ति कक्षा ५ की विनिता नेपाली र कक्षा ४ की सुरक्षा जिसीलाई नगद एक हजार ५०० रुपैयाँका दरले प्रदान गरिएको थियो ।

कार्यक्रममा नेकपाका नेता लालबहादुर अधिकारी, नेपाली काँग्रेसका गाउँपालिका संयोजक चन्द्रबहादुर जि.सी र जलजला ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले जलजलाको पूर्वाधार, सामाजिक, शैक्षिक, स्वास्थ्य, लगायत क्षेत्रको विकासका लागि अध्यक्ष तिमिल्सीनाको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारी, गाउँ शिक्षा अधिकारी झकप्रसाद गौतमले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रअ रघु आचार्यले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर लामिछानेको अध्यक्षता, शिक्षक प्रेम जिसीको स्वागत र रघुनाथ सुवेदीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।