शिखर नगरपालिकाद्धारा नगर बस सेवा सञ्चालन

0
Shares

विमल बिष्ट, डोटी ।
डोटीको शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त नगर बस सेवाको शिखर नगरपालिकाका मेयर सिताराम जोशीले एक कार्यक्रमका बिच शुभारम्भ गर्नु भयो । नगरपालिकाले खरिद गरेको २६ सिट पास रहेको उक्त २ वटा नगरबसले दिपायल देखि डडेल्धुराको कोरायल खोला सम्म सेवा दिने नगर प्रमुख शिताराम जोशीले जानकारी दिनुभयो ।

नगरपालिकाद्धारा सञ्चालनमा ल्याईएका नगरबसमा भाँडा सार्वजनिक यातायात भन्दा २५ प्रतिशत सस्तो रहेको नगरपालिकाले जनाएको छ । नयाँ संघिय संरचनामा साबिकको ९ वटा गाउँ बिकास समिति समाबेश गरेर शिखर नगरपालिका घोषणा गरिएको थियो ।

कुल ५६ लाख ६० हजारको लागतमा खरिद गरिएका नगर बसले नगरबासीलाई गुणस्तरीय सेवा दिने शिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज बिनाडीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत विनाडीका अनुसार नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनको लागि एम्बुलेन्स खरीद गर्ने प्रक्रिया अघि बढाईएको र नगरपालिकाको खरिद नियमावली अनुसार ३८ लाख ६९ हजारमा एक टिपर र ३६ लाख ९५ हजारमा पिकअप गाडी खरिद गरिएको छ ।

यस अघि डोटीकै दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएका नगर बस सेवाबाट पनि डोटीका नगरबासी प्रत्यक्ष लाभान्वित भईरहेका छन् ।