६ सयभन्दा बढीमा आयो सामाजिक परिवर्तन, सहारा बन्दै कोशिश

0
Shares

मनोसामाजिक अपांगताको विषयमा गम्भीर हुन आग्रह

 

काठमाडौं, (नेस) ।
समाजमा वेसहारा बनेका व्यक्तिलाई ल्याएर सामाजिक रुपमा परिवर्तन गरिएको कोशिशले जनाएको छ ।

शनिबार सांसदसँग गरेको अन्तरक्रियामा कार्यकारी निर्देशक मातृकाप्रसाद देवकोटाले समाजमा केही काम गरेपनि आर्थिक अवस्था र अन्य कारणले गति लिन नसकेको बताउनुभयो । ‘ हामीलाई देशव्यापी रुपमा जान र उद्धार गर्न मन छ तर प्रशस्त स्रोत छैन’ देवकोटाले भन्नुभयो ‘ जबसम्म नीति, निर्माण तहबाट नै सामाजिक सचेतना बाँड्ने र कडा कानुन बनाइँदैन तबसम्म व्यवहारमा लागू गर्न गाह्रो छ ।’

१० वर्षअघि स्थापित कोशिशले ६ सयभन्दा बढीलाई सेवा दिएको जनाएको छ । यो संस्थाले अहिले ३ नम्बर र गण्डकी प्रदेशमा कार्यक्रम सञ्चालन गरेको छ । अन्तरक्रियामा व्यक्ति परिवर्तन भएर समाज परिवर्तनमा लागेका सकारात्मक दृश्य समेटिएको बृत्तचित्र ‘रुपान्तरण’ प्रदर्शन गरिएको थियो ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानब अधिकार समितिका सभापति रहनुभएका कृष्णभक्त पोखरेलले समाजमा अपहेलित भएका र विविध कारणले समाजमा स्थापित हुन नसकेकालाई सरकारले पहिचान गरी उनीहरुको जीवन सहज बनाउन नीति , निर्माणको तहबाट नै पहल गरिने बताउनुभयो ।

सांसदहरुले विभिन्न कारणले समाजमा स्थापित हुन नसकेकाको तथ्यांक संकलन गरी स्थानीय तहले उनीहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने ऐन बन्नुपर्नेमा जोड दिए । सांसद लालबहादुर थापाले मनोसामाजिक अपांगता सरुवा रोग नभएकाले सरकारले रोकथामका उपाय अपनाउनुपर्ने बताउनुभभयो ।

‘उसको जीवनमा सुधार आएपछि सामाजिक र राजनीतिक अधिकारको ग्यारेण्टी गरिनुपर्छ ’ थापाले भन्नुभयो ‘ यो स्थायी रोग होइन र एकपटकको अवस्थालाई सम्झेर सधैं दोष लगाउनु हुँदैन ।’ मनोसामाजिक चिकित्सक डा. दीपक कुँवरले बढीमा ९ महिनासम्म औषधी खाए जस्तोसुकै मनोसामाजिक रोग पनि निको हुने बताउनुभयो । ‘यो गम्भीर समस्या होइन, ४–५ सय रुपैंयाँको औषधी नै पर्याप्त हुन्छ तर यसको लागि सबैको सकारात्मक दृष्टिकोण हुनुपर्छ ।’

कोशिशमा कार्यरत अधिवक्ता शर्मिला पराजुलीले मनोसामाजिक अपांगता भएका व्यक्तिलाई हेर्ने कानुन पनि दोषी रहेको बताउनुभयो । ‘उहाँहरुलाई सम्बोधन गर्ने भाषा पनि अव्यवहारिक छ, केही कानुनी प्रावधान सच्याउन सांसदहरुको सहयोगको खाँचो छ ’ पराजुलीले भन्नुभयो ।