प्रकाश पन्त, बीरेन्द्रनगर
कर्णाली प्रदेश सरकारले कालिकोटका अग्नी पीडितलाई घर निर्माणमा सहयोग गर्ने भएको छ । प्रदेशले घर निर्माणको लागि प्रतिपरिवार पाँच लाख रुपैया आर्थिक सहयोग गर्ने भएको हो ।
शनिवार बीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले यस्तो जानकारी दिनु भएको हो । उहाँले अग्नी पीडित परिवार पुर्नस्थापना गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्ने बताउनुभयो । प्रदेश सरकारको प्रवक्ता समेत रहनु भएकी मन्त्री केसीले अग्नी पीडितलाई सहयोग गर्न चाहने संघसंस्था र व्यक्तिसँग आवश्यक समन्वय गरेर सहयोगको वातावरण बनाउने पनि उल्लेख गर्नुभयो ।
अग्नी पीडित कोष स्थापना गर्ने र कार्यविधी बनाएर पीडितलाई सहयोग गर्न चाहने सहयोगी दातालाई सहयोगको लागि अपिल उहाँले बताउनुभयो । घर निर्माणका लागि प्रदेश सरकारले आफ्नै कोषबाट रकम दिने र केही रकम पीडितले पनि खर्च गर्नुपर्ने बताएको छ । यही पुस ८ गते कालिकोटको पलता गाउँपालिका–१ न्यौपानेखाडामा भएको आगलागीबाट ४ करोड ३५ लाख बरावरको क्षती भएको छ ।
पीडित परिवारलाई प्रदेशको तर्फबाट तत्काल प्रतिपरिवार २० हजार नगद र अरु आवश्यक राहात सामाग्री उपलब्ध गराएको छ । त्यस्तै कर्णाली प्रदेश सरकारको ३२ औ बैठकले प्रदेश अस्पतालसहित कर्णाली प्रदेशका १३ वटा अस्पतालमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य मनोनयन गरेको छ । प्रदेश अस्पताल सुर्खेतको अध्यक्षमा बीरेन्द्रनगर–४ भैरवस्थानका श्यामलाल कँडेल र सदस्यमा बीरेन्द्रनगर–१० कि हरिमाया शर्मा मनोनित हुनु भएको छ ।











प्रतिक्रिया