गणेश साम्पाङ, रबि, पाँचथर
पहिलो पटक २०४६मा पाँचथरको दोस्रो ठूलो व्यापारिक केन्द्र रबिमा मोटर पुग्दा स्थानीयबासीमा जुन उत्साह थियो, त्यो उत्साह अहिले झनै बढेको छ । इलाम पाँचथर र धनकुटाका विभिन्न भेग जोड्ने सडक कालोपत्रे हुने भएपछि स्थानीय निकै उत्साहित छन् ।
मेचि राजमार्गको इलाम फिदिम खण्डको राकेभञ्ज्याङदेखि पाँचथर रबि हुदै धनकुटाको पर्यटकीय केन्द्र भेडेटार जोड्ने क्षेत्रिय सडक कालोपत्रे हुने पक्का भएको हो । यो सडकले तीनवटै जिल्लाका एक दर्जन भन्दा बढी बजार धेरै गाउँपालिकालाई जोडेको छ । करिव एक सय किलो मिटर लामो सो सडक निमार्णका लागि भारत लखनऊको एपको इन्फ्राटेक प्रालिसँग सम्झौता भइ सकेको पाँचथरका प्रतिनिधी सभा सदस्य बसन्तकुमार नेम्बाङले जानकारी दिनुभयो ।
यो सडक एजिम बैंक अफ इण्डियाको ८७ प्रतिशत आर्थिक सहयोग र नेपाल सरकारको १३ प्रतिशत लगानीमा निमार्ण हुन लागेको हो । तीन बर्षमा कालोपत्र सम्पन्न हुने बताउँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘इन्फ्राटेक प्रालिसँग २ करोड ८८ लाख ८२ हजार १३ रपियाँ १० पैसा अमेरिकी डलरमा ठेक्का सम्झौता भएको छ ।’ कोशी लोकमार्गको भेडेटारदेखि धनकुटाको सागुरीगढी रचौबिसे, इलामको माङसेबुङ र फाकफोकथुम र पाँचथरको मिक्लाजुङ र फाल्गुनन्द गाउँपलिका भएर सो सडक बाटो मेची लोकमार्गको राँकेभञ्ज्याङ जोडिन्छ ।
तीन जिल्लाका ५ लाख भन्दा बढी स्थानीयलाई मोटर बाटोले समेट्ने भएकाले सो क्षेत्रको आर्थिक समृद्धिमा प्रत्यक्ष टेवा पुग्ने फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ बताउनुहुन्छ । धनकुटाको भेडेटारदेखि ६ नं बुधबारे सम्मको ४४ किलोमिटर सडक यसअघि नै ग्राभेल भइ सञ्चालनमा छ भने बाँकी ६६ किलोमिटर बाटो भने कच्ची छ । लामो खण्ड कच्ची भएकाले वर्षात्को समयमा सडक अवरुद्ध रहने गर्छ । सडक खुलेको ३ दशक लामो अवधिमा पनि स्तर उन्नती नहुँदा रवी र आसपासका बासिन्दाले वर्षाद्को समयमा निकै कष्ट व्यहोर्दै आएका छन् । सडकको स्तरउन्नती भएसँगै धेरै बजारको सम्पर्क सिधै तराईसँग जोडिन्छ ।
यो भेगमा उत्पादन हुने सब्जी, फलपूmल, दूध, चिया र अन्य उत्पादनले बजार पाउने भएपछि व्यापारिक कारोबार पनि बढ्ने पाँचथर उद्योग बाणिज्य संघ शाखा रबिका कार्यबाहक अध्यक्ष दिनेश खनालले बताउनुभयो । ‘सडकको स्तरउन्नती नहुँदा दैनिक उपभोग्य र अत्यावश्यक वस्तु ढुवानीमा चर्को मुल्य तिर्नुपर्ने बाध्यता छ, तर अब त्यस्तो असहज परिस्थिती अन्त्य हुने भएको छ’–उहाँले भन्नुभयो ।
सो मोटरबाटोले धनकुटाको राजारानी ताल, सूर्योदय र सूर्यअस्त राम्ररी नियाल्न सकिने मिक्लाजुङ जरिबुटे डाडा, पर्यटकीय क्षेत्र माङमालुङ यावाराङ झरना, बेहुली ढुंगा स्वर्गपुरी मन्दिर, कमलपोखरी पौवाभञ्ज्याङ सिलौटी जस्ता पर्यटकीय क्षेत्रलाई जोड्ने छ ।
तीनवटै जिल्लाको आर्थिक मेरुदण्डको रुपमा रहेको सो सडकको शिल्यान्यास आगामी २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ । शिल्यान्यास कार्यक्रम रवि बजारमा हुने सांसद नेम्बाङले जानकारी दिनुभयो ।
पाठकहरुबाट प्राप्त सुझावलाई सकारात्मक रुपमा लिदै गल्ती सच्याइएको छ ।
समाचारमा उल्लेख भएको सडक निर्माण सम्झौताको रकम अमेरिकी डलर भएको प्रष्ट्याउन चाहन्छौ ।
(सम्पादक)











प्रतिक्रिया