रविन घिमिरे
काठमाडौ । नेपाली कांग्रेस महासमिति सदस्य जयबहादुर टन्डनले देश विकराल परिस्थितिमा रहेको बताउनुभएको छ । कहीं नभएको जात्रा हाँडीगाउँमा भनेझैँ कम्युनिस्टको दुई तिहाइको सरकार बनेको र यसबाट जनता खुसी हुन नसकेको भन्दै उहाँले यस्तो हुनु कांग्रेसका लागि अवसर भएको बताउनुभयो ।
उहाँले कम्युनिस्ट सरकारलाई आफ्नै भारीले आफैंलाई किचेको र सरकारले घुँडा टेकिसकेको बताउनुभएको छ । शनिबार कलंकीमा अर्घाखाँची पाणिनि सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो– ‘अब युवाहरु अगाडि बढ्नुस्, हामीले साथ दिन्छौं ।’
उहाँले अब सबै युवा संगठित भएर पार्टीलाई सहयोग गर्नुपर्ने बताउनुभयो । पाणिनि गाउँपालिका हरेक हिसाबले अगाडि रहेको, ३ वटा प्राविधिक शिक्षालय एउटै गाउँपालिकामा भएको साथै लघु जलविद्युत्को सम्भावना पनि भएकाले यसको विकासमा लाग्नुपर्ने बताउभयो ।
्चुनावमा कांग्रेसले हार बेहोर्नुमा पनि कमीकमजोरी भएको बताउँदै त्यस्ता कमजोरीलाई सुधार गरे आगामी चुनाव जित्न सकिने उहाँले बताउनुभयो ।
यसैगरी त्रिविका सहायक डीन दिनेशमणि घिमिरेले अब कांग्रेस गुट उपगुटको पछि नलागी नयाँ पुस्तालाई के दिने भन्ने कुरामा ख्याल गर्न र के कारणले पार्टीले चुनावमा हार बेहो¥यो भन्ने ख्याल गर्दै पार्टीलाई जीवन्तता दिन नयाँ पुस्ताबाट नेतृत्व आउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै समितिका सल्लाहकार भविश्वर घिमिरेले पाणिनि गाउँपालिका व्याकरणशास्त्री पाणिनि ऋषिको तपोभूमि भएको र यो आफैंमा समृद्ध गाउँपालिका भएको बताउनुभयो । उहाँले यस गाउँपालिकाका सबै निर्वाचनका बेला काठमाडौंमा बसेर पनि समन्वय गरेको तर गएको निर्वाचनमा कसरी चुक्यौं भन्ने कुरामा नेतृत्व तहसँग छलफल भइरहेको बताउनुभयो । कांग्रेसले अहिलेको गल्ती नसच्याए भोलि पार्टीलाई शिलामा खोज्नुपर्ने स्थिति आउने बताउनुभयो । अब पार्टी सशक्त बन्न सकोस् भनेर यस्तो कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति बद्रीप्रसाद गौतमले नयाँ जोश र जाँगरका साथ संगठित भएमा प्रजातन्त्रवादी कहिल्यै असफल नहुने बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले पार्टीले कमजोरी सुधानुपर्ने र नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा हिम्मतबहादुर टन्डन, कृष्ण अधिकारी, कृष्ण घिमिरे, नरेश अधिकारी, कमला घिमिरे, नेपाल तरुण दल अर्घाखाँचीका अध्यक्ष, समितिका पदाधिकारीलगायत पाणिनि गाउँपालिकाका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तित्वको सहभागिता रहेको थियो ।











प्रतिक्रिया