इटालियन अटोमेटिक पेस्तोलसहित चारजना पक्राउ

0
Shares

काठमाडौं, (नेस) ।
एपीएफ इन्टेलिजेन्स ब्यूरोको बिशेष टोलीले भक्तपुरको सल्लाघारीबाट शनिबार गोली लोड अवस्थाको इटालियन अटोमेटिक पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिकोट जिल्ला तिलागुफा नगरपालिका १ वस्ने २५ वर्षिय मोतिलाल शाही, सोही नगरपालिका ३ वस्ने २१ बर्षिय बलदिप शाही, कालिकोट जिल्ला मैबी गाउँपालिका ६ वस्ने १८ वर्षिय जागेश शाही र मुगु जिल्लाको खत्ने गाउँपालिका २ वस्ने २२ वर्षिय भीमप्रसाद दाहाल छन् ।
उनीहरु केही अवधिदेखि भक्तपुरको सल्लाघारीमा बस्दै आएको बताइएको छ ।

शनिबार दिउँसो उनीहरुलाई सो ब्यूरोको बिशेष टोलीले सल्लाघारीस्थित एक रेष्टुरेण्टबाट पक्राउ गरेको थियो । त्यसवेला उनीहरुको साथबाट एउटा इटालियन अटोमेटिक पेस्तोल तथा ९ एम.एम. को पाँच राउण्ड गोली र एउटा म्याग्जिन बरामद भएको छ । सो पेस्तोलमा पाँचवटै गोली लोडेड अवस्थामा रहेको थियो ।

उनीहरु आपराधिक गतिविधिमा संलग्न रहेको तथा उनीहरुको साथमा अवैध पेस्तोल रहेको भन्ने जानकारी पाएपछि खटिएको सो ब्यूरोको बिशेष टोलीले उनीहरुलाई हतियारसहितै पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई बरामद पेस्तोल तथा गोली र म्याग्जिनसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी नायव निरीक्षक अजय छतकुलीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।