टीका बन्धन, काठमाडौ
दुर्लभ जन्तु हिउँ चितुवाको बैज्ञानिक अध्ययन अनुसन्धानलाई सहज र सरल बनाउन हिउँ चितुवाको घाँटीमा ‘स्याटेलाइट रेडियो कलर’ जडान गर्ने तयारी गरिएको छ ।
सो जन्तुको विचरण क्षेत्र, आहरा, वासस्थान र अन्य गतिविधी नियाल्न डोल्पा, अन्नपूर्ण र मनास्लु क्षेत्रका १२ वटा हिउँ चितुवामा स्याटेलाइट उपकरण जडान गर्ने तयारी गरिएको हो । हिउँ चितुवाले घरपालुवा जनावरलाई पु¥याइरहेको क्षति र मानववस्तीसँग जोडिएका विविध समस्या न्यूनिकरणका उपाय खोज्न समेत यो विधी उपयोगी मानिन्छ ।
यही आर्थिक वर्षभित्र डोल्पा, अन्नपूर्ण र मनास्लु क्षेत्रका १२ वटा हिउँ चितुवामा ‘स्याटेलाइट ट्याग’ गरिने वन तथा वातावरण मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रलाई बताए । ‘तीनवटै क्षेत्रमा ४÷४ वटा हिउँ चितुवालाई स्याटेलाइट गरिनेछ, यो कामको नेतृत्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्दैछ’–ती अधिकारीले भने ।
यो अभियानलाई सफल बनाउन विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने भएका छन् । स्याटेलाइट जडान गरिएका हिउँ चितुवाका गतिविधी र चहल÷पहल काठमाडौं र अन्य सुगम गन्तव्यबाटै नियाल्न सकिन्छ । यसअघि यस्तो अभ्यास कञ्चनजंघा संरक्षण क्षेत्रमा भइसकेको छ । ५ वर्ष अघि सो क्षेत्रका ४ वटा हिउँ चितुवामा त्यस्तो उपकरण जडान गरेपछि सो जन्तुका विविध गतिविधी नियालिएको थियो ।
रेडियो कलरले दिने सूचनाका आधारमा हिउँ चितुवासँगै अन्य जिवजन्तु संरक्षणका अल्पकालिन र दीर्घकालिन योजना बनाउन सकिने वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनुभयो । विगतमा कञ्चनजंघा क्षेत्रमा सफल अभ्यास भइसकेको छ, त्यहाँको अभ्यासले धेरै कुरा सिकाएको छ, उहाँले भन्नुभयो–‘यो विधीले हिउँ चितुवासँगै अन्य दुर्लभ र लोपोन्मुख जीवजन्तु संरक्षणमा सघाउ पु¥याउनेछ ।’
खड्काले प्रष्ट्याउँदै भन्नुभयो–‘हिउँद लगत्तै यो काम अघि बढ्छ, त्यसको आवश्यक तयारी अहिले भइरहेको छ ।’ नेपालका उच्च पहाडी र हिमाली भेगका कञ्चनजंघा, मकालुवरुण, सगरमाथा, गौरीशंकर, लाङटाङ, अन्नपूर्ण, शे–फोक्सुन्डो, रारा, अपिनाम्पा जस्ता क्षेत्रमा हिउँ चितुवाको चहल–पहल पाइएको छ । नेपाल सहित विभिन्न १२ मुलुकमा यो जन्तुु भेटिएको छ । विश्वमा ६ हजार ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको हिउँ चितुवाको संख्या नेपालमा अधिकतम ५ सयका हाराहारीमा रहेको संरक्षणकर्मीहरुको अनुमान छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन)ले यो जन्तुलाई ‘अति दुर्लभ’को सूचिमा सूचिकृत गरेको छ भने संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (साइटिस)ले अनुसूची १मा समावेश गरेको छ । हिउँ चितुवामा स्याटेलाइट जडानको अभ्यास भइरहँदा यसको संख्या यकिन गर्न छलफल पनि भइरहेको महानिर्देशक खड्काले बताउनुभयो ।
सन् १९८०को दशकमा डोल्पा र मुगुमा रेडियो प्रणालीमा आधारित ट्रान्समिटर जडानगरी हिउँ चितुवाको नमूना बैज्ञानिक अध्ययन शुरु भएको वन्यजन्तुविद् प्राध्यापक करणबहादुर शाह बताउनुहुन्छ । बाघ, गैडा, हात्ति, रेडपान्डा, भालु जस्ता जन्तुलाई पनि स्याटेलाइट जडान गरी अध्ययन अनुसन्धान हुँदै आएको छ ।











प्रतिक्रिया