‘महासंघको संस्थागत विकास सरकारको ड्युटी’

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले पत्रकार महासंघको संस्थागत विकास र पत्रकारको क्षमता अभिवृद्धि सरकारको ‘ड्युटी’ भएको बताएका छन् । शनिवार नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको तेस्रो बैठक उद्घाटन समारोहमा बोल्दै मन्त्री दुलालले महासंघको संस्थागत विकासमा सरकारले आफ्नो दायित्व पुरा गर्ने जिकिर गरे ।

मुलुकको आर्थिक समृद्धि र रोजगारीका ढोका खोल्नका लागि सञ्चारकर्मीका भूमिका महत्वपूर्ण हुने भन्दै मन्त्री दुलालले समाजमा विद्यमान बिकृति र विसंगतीको चिरफार गर्दै विकास पत्रकारीतामा जोड दिइनुपर्ने बताए ।

सञ्चारकर्मीले सत्ताप्रति सँधै खवरदारी गर्नुपर्ने भन्दै उनले राम्रा र रचनात्मक काम गर्दा सकारात्मक शन्देश प्रवाह गर्नुपर्ने उनले बताए । ‘सत्ताप्रति निरन्तर खवरदारी गरिरहनुस्, तपाईहरुको खवरदारीले सत्तासिनहरुलाई सचेत गर्दछ’, उनले भने,–तर राम्रा र रचनात्मक काम भएका छन् भने त्यसलाई सकारात्मक रुपमै शन्देश प्रवाह गर्नुस् ।’

पछिल्लो समय पत्रकारीतामा ‘कपिकारीता’ मौलाइरहेको भन्दै कतिपय सन्दर्भमा सञ्चारकर्मीले गलत समाचार लेख्नेगरेको उनले बताए । ‘क्षमता अभिवृद्धि नहुँदा कपिकारीता मौलाइरहेको छ, समाचारका नाममा कतिपय सन्दर्भमा गलत समाचार पनि भेटिएका छन्’, मन्त्री दुलालले भने, –‘पत्रकार महासंघको संस्थागत विकास र पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रममा हामी सहयोग गर्छौं, यो हाम्रो ड्युटी नै हो ।’

पत्रकार महासंघ ३ नम्बर प्रदेश कमिटीको तेस्रो बैठक शनिवार विहानदेखि जिल्ला शाखाको सभाहलमा सुरु भएको छ । राष्ट्रिय जलवायु सम्मेलनको अवसर पारेर यसपटक महासंघ प्रदेश कमिटीको बैठक सिन्धुपाल्चोकमा गरिएको अध्यक्ष प्रताप बिष्टले बताए । बैठकको उद्घाटन समारोहमा जलवायु सम्मेलन मूल व्यवस्थापन समितिकाका तर्फबाट जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले जलवायु सम्म्ेलनको औचित्य र तयारीबारे जानकारी गराएका थिए ।