पोखरी मासेर कम्प्लेक्स १५ वर्षदेखि सर्वोच्चमा मुद्दा

0
Shares

सुरेश तामाङ, ललितपुर
लगनखेलस्थित सप्तपाताल पोखरी विसं. २०२७ साल अगाडिसम्म फराकिलो थियो। पोखरीभरि सफा पानी, भित्र माछा खेलेको प्रस्टै देखिन्थ्यो। तर अहिले पोखरीको अस्तित्व नै खोज्नुपर्ने स्थिति आइसकेको छ। १४ रोपनी १० आना २ पैसामा फैलिएको उक्त पोखरीको अहिले पाँच आना क्षेत्रफल भेट्न मुस्किल छ।
केही वर्षदेखि यहाँ पानी जम्मा हुँदैन बरु शहरको फोहोर थुपार्ने डम्पिङ साइटजस्तै बनेको छ। चौतर्फी मिचाइमा परेर यस पोखरी अहिले सानो आकारमा खुम्चिएको छ।
यसलाई पाटनभित्रको ६० ढुंगेधारा, अनगिन्ती इनार, ५४ पोखरीका लागि पानी सञ्चय गर्ने मुख्य पोखरीका रूपमा लिइन्थ्यो। महानगरपालिका–१२ का स्थानीय नन्दभक्त चित्रकार सम्झनुहुन्छ– ‘त्यसबेला यो पोखरी हुँदै पाटनभरिलाई पानी खाना पुग्थ्यो। अहिले यस्तो बेहाल अवस्था छ।’
‘त्यसबेला उक्त पोखरीमा राजकुलो हुँदै पानी जम्मा हुन्थ्यो। सप्तपाताल पोखरीबाटै पाटनभरिको ढुंगेधारा, इनार र अन्य पोखरी भथ्र्याैं।’
–रिङरोड बनेपछि यस पोखरीमा पानी आउन कम हुँदै गएको स्थानीय चित्रकार सुनाउनुहुन्छ। स्थानीयहरू यहाँ पौडी खेल्ने, तरकारी पखाल्ने गर्थे। परापूर्वकालदेखि नै यस पोखरीलाई रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रासँग समेत जोडिएको छ।
रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा सम्पन्न भएपछि, मीननाथको पुजारी (पान्जु)हरूले तान्त्रिक विधिबाट पूजापाठ गरी पोखरी छेउबाट एक जोडी भंगेरा उडाउने र एक जोडी ज्युँदो माछा यसै पोखरीमा छोडिदिने प्रचलन रहिआएको छ।
आकाशमा उडाइएको भंगेरामार्फत इन्द्र भगवान्सम्म र पोखरीमा छोडिएको माछामार्फत धर्ती मातासम्म जात्रा सम्पन्न भएको खबर पु¥याइदिने विश्वासले यस्तो गर्दै आएको स्थानीय चित्रकार बताउनुहुन्छ।
तर सडक, स्कुलबाट पोखरी मिच्ने प्रयासले गर्दा जात्रा सकेपछि गरिने बैद्धिक विधि संकटमा पर्ने हुन् कि भन्ने उहाँलाई चिन्ता छ।
पाटन क्षेत्रभित्र झण्डै ५० वर्षअघि औँलाले गन्न मिल्नेसम्मको विद्यालय थिए। यसपोखरी पनि सुक्दै गएपछि विद्यालयको आवश्यकता महशुस गर्दै स्थानीयले पोखरीको केही भागमा विद्यालय सञ्चालन गर्न मञ्जुर भए।
वि.सं. २०२७ साल ताका निजी प्रयासको विद्यालय यस पोखरीमा स्थापना भयो। नाम मोडल प्राइमरी स्कुल राखियो। पोखरीको केही भागमा विद्यालय सञ्चालन गर्न दिएको स्थानीयले पत्तै पाएन। विद्यालयले पोखरीको पुरै क्षेत्रफल भोग–अधिकार स्कुलको नाममा बनायो।
‘त्यसबेला स्कुुलका लागि भनेर थोरै जग्गामा बनाउ भनेको थियो। तर उसले त पोखरीको पुरै जग्गा आफ्नो नाममा दर्ता पो गरेछन्। यस्तो गर्लान् भन्ने सोचेकै थिएनौँ’, लगनखेल समाजका प्रवक्ता राजु खान सुनाउनुहुन्छ।
विस्तारै स्कुलले पोखरी मिच्दै पोखरीको भागलाई खुम्च्याइयो। अहिले उक्त स्कुल नमुना मच्छिन्द्र आवासीय हुँदै नमुना मच्छिन्द्र व्यवसायिक माध्यमिक विद्यालय भएको छ। लगनखेलकै नमुना मच्छिन्द्र माविसँगको मर्जिङपछि उक्त स्कुलको नाम यस्तो नाम रहन गयो।
नमुना मच्छिन्द्रले उक्त पोखरीको जग्गा हडप्ने प्रयास स्वरूप निजी विद्यालयसँग मर्जिङ गरेको स्थानीयहरूको आरोप छ। नमुनाले उक्त पोखरीमा २०६१ सालताका बिजनेस कम्प्लेक्स बनाउने भन्दै पिलरसमेत ठड्याइसकेको स्थानीय सुनाउँछन्।
स्थानीयको व्यापक विरोधपछि नमुना मच्छिन्द्र पछि हट्न बाध्य भएको थियो। त्यस यता स्थानीयले यस पोखरीको लालपुर्जा बदर गरी जग्गा फिर्ता गर्दै पोखरीलाई पुनः स्थापना गरी सञ्चालन गर्न मुद्दा लडेको मात्रै झण्डै १५ वर्ष पुगेको छ। तर यस विषय अझै सर्वाेच्च अदालतमा विचराधीन छ।
स्थानीयले तत्कालिन मोडल प्राइमरी स्कुलको नाममा रहेको उक्त पोखरी भएको जग्गा २१२ कित्ताको लालपुर्जा बदर र नक्सा बदर गरिदिन सर्वाेच्चमा मुद्दा हालिसकेका छन् भने सर्वाेच्चले पोखरीमा कुनै पनि भौतिक संरचना निर्माण नगर्न परमादेश जारी गरिसकेको अवस्था छ।
तर सर्वाेच्चको यस्तो परमादेशलाई लत्याउँदै नमुना मच्छिन्द्रले उक्त पोखरीलाई मासेर पाँच तलेको सुविधासम्पन्न विद्यालय बनाउन जापानी सँस्था जाइकासँग सम्झौता समेत गरिसकेको खुलेको छ।
स्थानीय यस पोखरीमा कुनै पनि भौतिक संरचना बनाउन दिने पक्षमा छैनन्। लगनखेल समाजका प्रवक्ता खान भन्नुहुन्छ– ‘हामी कुनै पनि हालतमा बनाउन दिँदैनौँ। लडिरहन्छौँ। त्यहाँ पोखरी नै रहिरहनुपर्छ।’
नमुना मच्छिन्द्र माविका प्रधानाध्यापक राधाकृष्ण महत भने आफूलाई यस विषयमा सामान्य पनि जानकारी नभएको दावी गर्नुहुन्छ।
उहाँ पन्छिन खोज्दै भन्नुहुन्छ– ‘म यहाँको स्थानीय पनि हुँ। यहाँ जाइकाले विद्यालय बनाउन लागेको हो। मुद्दा मामिला बारे थाहा छैन। त्यहाँ पोखरी पनि बन्नुपर्छ। स्कुल पनि बन्नुपर्छ। अरू त थाहा छैन। स्थानीयलाई नै सोध्नूस् न।’