विद्युतीय उपकरण प्रयोग गर्दा सचेत हुन आग्रह

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
राजधानीमा जाडोयाम शुरू भएसँगै आगलागीका घटना बढ्न थालेका छन्। पुस महिना लागेसँगै काठमाडौंमा दैनिक आगलागीका घटना बढ्न थालेका हुन्।
यो महिनामा झन्डै एक दर्जन आगलागीका घटना भएको दमकल कार्यालयले जनाएको छ। बिहीबार क्षेत्रपाटीस्थित जुत्ता गोदाममा आगलागी भयो। पुस १ गते त्रिवि शिक्षण अस्पतालको होस्टलमा आगलागी भएको थियो। पुस ३ गते खिचापोखरीस्थित पिपल्स प्लाजामा आगलागी भयो। सोही दिन सर्वोच्च अदालतको पुरानो फैसला कार्यालयमा, ९ गते त्रिचन्द्र क्याम्पसको जेनेरेटर राख्ने स्थानमा र बूढानीलकण्ठमा आगालागी भएको थियो।
यस्ता आगलागीका धेरैजसो घटना विद्युतीय उपकरण सर्ट भएर र ग्यास लिक भएर हुने गरेको छ। ‘अहिले त हामी २४सै घण्टा अलर्ट अवस्थामा छौं, कहिले कहाँ आगालागी हुन्छ थाहै हुँदैन। जाडो बढ्नासाथ राजधानीमा आगलागीका घटना अत्यधिकरूपमा बढ्न थालेको छ।’ –जुद्ध वारुण यन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीले नेपाल समाचारपत्रसँग भन्नुभयो।
राजधानीमा आगलागीका घटना बढे
दैनिक तीनवटासम्मको आगलागीका घटना हुने गरेको उहाँको भनाइ छ। उहाँका अनुसार असावधानीका कारण आगलागीका घटना बढ्दै गएको हो।
उहाँले भन्नुभयो– ‘अधिकांश घटना जाडोमा आगो ताप्न विद्युतीय उपकरण चलाउँदा हुने गरेको छ। कतिपय ठाउँमा त दाउराबाट आगोताप्दा आगलागी हुने गरेको छ।’ हाल कामपासँग चारवटा दमकल आगालागी नियन्त्रणका लागि प्रयोग हुँदै आएको छ।
कामपाले आगलागी नियन्त्रण गर्न सम्पूर्ण सामग्री तयारी अवस्थामा राख्ने गरेको जनाएको छ। ‘विगतमा जस्तो समस्या छैन, पानीको प्रशस्त व्यवस्था गरेका छांै, वारुणयन्त्र सुविधा सम्पन्न छन्।’ –दमकल प्रमुख नगरकोटीले भन्नुभयो।
अधिकांश आगलागी बिजुली सर्ट भएर हुने गरेको बताउँदै उहाँले भन्नुभयो– ‘विद्युतीय उपकरण प्रयोग गर्दा ध्यान नदिँदा आगलागीका घटना बढ्न थालेको हो।’
आगलागीका घटना बढ्न थालेपछि वारुण यन्त्र कार्यालयले धुपबत्ती बाल्दा, चुरोट सल्काउँदा, विद्युतीय सामग्री चलाउँदा, घरमा अति प्रज्वलनशील पदार्थ भण्डारण गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।
कामपा वारुणयन्त्र महाशाखा प्रमुख यादव घिमिरेले जनता आफै सचेत भएर आगलागी हुन सक्ने यन्त्र सञ्चालन गर्दा ध्यान दिनुपर्ने बताउनुभयो। आगलागीका घटना न्यूनीकरण गर्न महानगरले हरेक ठूला भवनमा फायर इस्टिङगुइजर (अग्नि नियन्त्रक यन्त्र) राख्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न लागेको उहाँले बताउनुभयो।
अब महानगर क्षेत्रका वडा कार्यालयमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउँदै उहाँले भन्नुभयो– ‘त्यसका लागि सरोकारवालासँग छलफल गरिरहेका छौं।’
विशेष गरी पानी तान्ने मोटर सर्ट भएर, ग्यास लिक भएर बढी आगलागीका घटना हुने गरेका तथ्याङ्क दमकल कार्यालयसँग छ। पछिल्लो समयमा विद्युतीय पोलमा नेट र केबुलमा प्रयोग हुने पुरानो तार सर्ट भएर पनि आगलागी हुने गरेको वारुण यन्त्र कार्यालयले जनाएको छ।
पुरानो तार भएका पोलमा नयाँ तार फेर्न सम्बन्धित निकायलाई आग्रह गर्दा पनि कतिपय अवस्थामा कार्यान्वयन हुन नसकेको कार्यालयको भनाइ छ।
यस्ता किसिमका आगलागीका घटना हुन नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको वारुण यन्त्रले वडास्तरमै कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको महाशाखा प्रमुख घिमिरेले बताउनुभयो। वडास्तरमा आगालागी नियन्त्रण गर्ने विषयमा प्रयोगात्मक तालिम सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो।