पाटेबाघको छालासहित चार जना पक्राउ

0
Shares

हेटौंडा,(नेस) ।

मकवानपुर प्रहरीले पाटेबाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी पाटेबाघको छालासहित पक्राउ परेकालाई सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।

मकवानपुर प्रहरीले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका केही ठाउँमा संरक्षित जंगली जनावर बाघको छालाको कारोबार हँुदै गरेको सूचनाका आधारमा पाटेबाघको छालासहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।

पाटेबाघको छालासहित पक्राउ पर्नेमा काभ्रे बस्ने ३० वर्षीय दिलबहादुर घलान, मकवानपुरको थाहा–८ बस्ने ३२ वर्षीय आत्माराम घलान, ३० वर्षीय गोमलाल थिङ र धादिङको गजुरी–८, सानोबाई बस्ने २७ वर्षीय दिलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी÷प्रवक्ता यज्ञप्रसाद भट्टराईले बताउनुभयो । ८ फिट ६ इञ्च लम्बाई र चौडाईं १ फिट १० इञ्चको छाला सात लाख रुपियाँमा खरिदबिक्रीको मोलमोलाइ भइरहेको अबस्थामा उनीहरु पक्राउ परेका हुन् ।

डीएसपी भट्टराईले सेतो प्लास्टिकको बोराभित्र लुकाइ ल्याएको पाटेबाघको छाला बरामद गरिएको बताउनुभयो । उहाँले बन्यजन्तु संरक्षण संघका प्रतिनिधि र प्रहरी कार्यालयबाट खटिएको टोलीले विषेश सुराकीको आधारमा खोजतलासका क्रममा थाहा–३ स्थित दोबाटोमा डाँडाबासदेखि पालुङ बजारतर्फ आइरहेको ना. ३५ प ४३४२ नम्बर मोटरसाइकल र ना. २ ह ३९२७ नम्बर अटोमा सवार उनीलाई नियन्त्रणमा लिइएको बताउनुभयो । पाटेबाघको छालासहित पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय हेटौंडा पठाइएको जनाइएको छ ।

सन् २०१३ को अनुगमनमा चितवन निकुञ्जमा १ सय २० बाघ थिए । तर, विभिन्न कारण यसको संख्या घटिरहेको छ । ती कारणमध्ये चोरीशिकारी पनि एक हो । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्य छ । नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघको सबभन्दा ठूलो वासस्थान हो ।