अधिकारीका परिवारले नै कांग्रेसको झण्डा ओढाउन मानेनन्

0
Shares

नेपाल समाचारपत्र, स्याङजा ।

पुतलीबजार नगरपालिका १० राङ्खोला निवासी शिवकुमार अधिकारीको ७९ वर्षको उमेरमा पुस १० गते मंगलबार निधन भएको छ ।

अधिकारी पंचायती शासनविरुद्ध नेपाली काँग्रेसले संचालन गरेको सशस्त्र क्रान्तिका पक्षमा रगतले हस्ताक्षर गर्ने स्याङ्गजाका पहिलो ब्यक्ति थिए । सशस्त्र क्रान्ति अन्तरगतको बम काण्ड जिÞिम्मेवारीका क्रान्ति नायक अधिकारीलाई नेपाली काँग्रेस स्याङ्जाले गुमाएको छ ।

अधिकारीको पार्थिव शरीर माथि नेपाली काँग्रेसको झण्डा ओडाउन भने निजका परिवारले सहमति दिएनन् । उनको शुधबार अन्तेष्टी गरिएको थियो । ‘प्रजातन्त्रको रक्षामा अतुलनीय योगदान पुर्याएको कदर नहुने, बाँचुल्जेल पार्टीको उपल्लो तहले बेवास्ता गर्ने अनि मृत्युपश्चात झण्डा ओढाउन खोज्नुको औचित्य नभएकाले अस्वीकार गरेका हौ ं।’

उहाँ सदैव कर्म गर्ने तर व्यक्तिगत फलको अपेक्षा कहिल्यै नराख्ने मान्छे हो । नेपाली काँग्रेसको झण्डा वहाँको आदर्श थियो र त्यो झण्डाले बोकेका आदर्श, मूल्य मान्यताहरू सदैव संस्थागत भइरहुन भन्ने ठान्नु हुन्थ्यो ।

नेपाली काँग्रेसमा पछिल्लो समयमा बढ्दै गएको बिकृति बिसंगति हटाई सुधारिएको काँग्रेस निर्माण अनि देशै भरिका प्रजातन्त्र सेनानीहरू जिउदै रहदा पार्टीले सम्मान गर्ने परिपाटी बस्यो भने सम्मान गरिरहन नपर्ने भन्ने चाह भएकाले नै पार्टीको झण्डा ओडाउन सहमति नदिएको परिवार जनाएका छन् ।

२०१७ सालको राजनीतिक ‘कू’पछि नेपाली कांग्रेसप्रति आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका अधिकारी नेपाली कांग्रेस जिल्ला सदस्य, सचिव, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बनेर कांग्रेसको संगठन सुदृढीकरणमा लागेका थिए । २०४९ सालको सम्पन्न भएको स्थानीय निकायको निर्वाचनबाट जिल्ला विकास समिति स्याङ्जाको सभापतिमा निर्वाचित भए । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित अधिकारी स्याङ्जा जिविसका पहिलो सभापति हुन् ।

अंग्रेजी भाषा शिक्षक, प्रिन्सिपल हुँदै विभिन्न सामाजिक सेवामा समेत आवद्ध अधिकारी नेपाली साहित्यका समेत अनुरागी थिए । उनी राङखोला स्थित सोपान अं्रग्रेजी आवासीय माविका संस्थापक प्रिन्सिपल एवं हाल संचालह रहेका छन् ।

अधिकारीले नेता बिपी कोइरालासँग बनासरमा निर्वासनका बेलासँगै बसेका थिए । कांग्रेसले आह्वान गरेको सशस्त्र आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारी २०३३ सालको राष्ट्रिय मेलमिलापको नीति पछि देशका विभिन्न स्थानवाट बिपी कोइराला सँगै गिरफ्तारी दिन वहाले स्याङ्जाबाट गिरफ्तारी दिनु भएको थियो। करिब साडे चार वर्षको जेल जीवन र चार वर्षको निर्वासन जिवन विताएका २०३६ सालको जनमत संग्रहसँगै दिइएको आम माफिमा समेत माफि पाएका थिएनन् ।

तत्कालिन सरकारले उनको टाउको ल्याउने ब्यक्तिलाई रु. ५० हजार पुरस्कार घोषणा सँगै सर्वश्वहरण सहित मृत्युदण्डको दर्जनौ मुद्दाहरू चलाएको थियो । अधिकारीका २ श्रीमती ३ छोरा र एक छोरी छन् अधिकारीको बुधबार नै अन्त्यष्टि गरिएको छ ।