प्रहरीमा नयाँ भर्ना छनौट परीक्षा निष्पक्ष र पारदर्शी हुनुपर्छ: महानिरीक्षक खनाल

0
Shares

बाँके, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताबाट लिइने भर्ना छनौट परीक्षा सवैको पहुँच हुने गरी निष्पक्ष र पारदर्शी रुपमा हुनुपर्ने बताउनुभएको छ ।

प्रदेश प्रहरी तालिम केन्द्र कर्णाली प्रदेश सुर्खेत हाल नेपालगंजको बिहीबार निरीक्षण भ्रमणको क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी जवानमा नयाँ भर्नाका लागि हाल छनौट परीक्षा भइरहेको उक्त तालिम केन्द्र अवलोकनको क्रममा प्रहरी महानिरीक्षक खनालले तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारी, प्रशिक्षक एवम् प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै प्रहरी सेवामा सामान्य नागरिकको सहज पहुँच हुनुपर्नेमा जोड दिनुभयो । परीक्षामा असफल हुने प्रशिक्षार्थीहरुलाई समेत प्रहरीबाट सभ्य, शिष्ट र सम्मानजनक व्यवहार हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

सुरक्षा प्रदान गर्ने निकाय कहिल्यै नराम्रो हुन नहुने र आफ्नो दायित्व के हो भन्ने बुझेर सवै तहका प्रहरी कर्मचारी अझै वढी लगनशील हुनुपर्ने प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । प्रशिक्षण संगठनको मुटु भएकोले सवै प्रशिक्षकहरुले अनुशासित भएर दक्ष जनशक्ति उत्पादन गर्न दत्तचित्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले भर्ना छनौट प्रक्रिया, तालिम केन्द्र परिसर, प्रशिक्षण स्थल, प्रशिक्षक तथा प्रशिक्षार्थी ब्यारेक, भान्साघर लगायतको अवलोकन गर्नुभएको थियो ।