कृष्णउदास खनाल, वीरगन्ज
पर्सामा नेविसंघको गाउँपालिका अधिवेशन गराउने विषयमा छलफल गर्न बसेको बैठकमा खुकुरी हानाहान भएको छ। ठाकुरराम बहुमुखी क्याम्पस इकाइ उपाध्यक्ष समीर हुसेनमाथि खुकुरी प्रहार भएको हो। टाउकोमा चोट लागेपछि उहाँको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
रोशन सिंह भनिने मुन्ना सिंहले समीर मन्सुरीलाई खुकुरी प्रहार गरेपछि अवस्था तनावग्रस्त भएको थियो।
मन्सुरीलाई बचाउन गएका उपाध्यक्ष हुसेनलाई खुकुरीले लागेको प्रत्यक्षदर्शीले बताएका छन्।
कांग्रेसभित्रको गुट–उपगुटका कारण विद्यार्थीबीच खुकुरी हान्नेसम्मको घटना भएको कांग्रेसका एक नेताले बताए। वीरगन्ज श्रीपुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा गाउँ अधिवेशन गराउन प्रतिनिधि छनोट गर्ने विषयमा बैठक बसेको थियो।
बैठकमा कस कसले कुन–कुन गाउँपालिकाको जिम्मा लिने भन्ने विषयमा सहमति गरेर आउनका लागि समय दिइएको थियो। आवश्यक सर–सल्लाह गरेर दुई घण्टा पछि बस्ने बैठकमा नाम दिन भनिएको थियो।
दुवै पक्षले बाहिरबाट आफ्नो समूह ल्याएका कारण समस्या उत्पन्न भएको नेपाली काँग्रेसका सचिव श्याम पटेलले जानकारी दिनुभयो। स्थिति तनावपूर्ण भएपछि नेपाली काँग्रेस पर्साका जिल्ला सचिव श्याम पटेल, कोषाध्यक्ष ईम्तियाज आलम, नगर कार्यपालिका सदस्य अरविन्द गुप्ता, नेता राकेश यादव, विद्यार्थी नेता जीवन सापकोटा लगायतले खुकुरी हान्नेलाई कारबाही गर्ने आश्वासन दिएका थिए।
खुकुरी प्रहार गर्ने पटेललाई आज दुई बजे जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई पार्टी र प्रशासनबाट कारबाही गरिने भन्दै उनीहरूले अर्को पक्षलाई आश्वस्त पारेका थिए। तर समिर अन्सारीका अभिभावकले भने खुकुरी हान्नेलाई मात्रै नभई निर्देशन दिनेलाई समेत कारबाही गर्न माग गरेका छन।











प्रतिक्रिया