संसद्को तेस्रो अधिवेशन प्रारम्भ

0
Shares

गंगा बराल, काठमाडौं
बुधबारदेखि शुरू भएको संघीय संसद्को तेस्रो अधिवेशनमा प्रतिनिधिसभाका सत्तापक्ष र प्रतिपक्षका सांसद्हरूबीच सरकारको बचाउ र आलोचनामा जुहारी चल्यो। शुरूमा बोलेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राम्रो काम गरेको र सफलता हासिल भएको दाबी गर्नुभएको थियो। उहाँको दाबी सुनेपछि विपक्षी सांसदहरूले उहाँप्रति कटाक्ष गरे।

दाहालले वर्तमान सरकार ऐतिहासिक कार्यभार पूरा गर्ने दिशातिर लागेकाले सामान्यरूपमा नहेर्न सांसद र अन्यलाई आग्रह गर्नुभएको थियो। उहाँले संविधान निर्माण गर्न र शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन सबै दलका प्रमुख नेताहरूको योगदान उल्लेखनीय रहेकाले आगामी दिनमा पनि सहकार्यको जरुरी रहेको बताउनुभयो। दाहालले सरकारले छिमेकीसहित अन्य मित्र राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम गरेको चर्चा गर्नुभएको थियो। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले जनचाहनाअनुसार काम नभएको गुनासोलाई सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभएको थियो।

दाहालले कर्मचारी समायोजनको प्रक्रियामा केही जटिलता भएको र सरकारले कानुनीरूपमा संघीयतालाई कार्यान्वयनका लागि प्रयत्न गरिरहेको दाबी गर्नुभयो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका संसदीय दलका नेता शेरबहादुर देउवाले सरकार चौतर्फीरूपमा असफल भइसकेको टिप्पणी गर्नुभयो। उहाँले आफ्नो पालामा ल्याउन लागिएको सामाजिक सुरक्षा कोषको योजना आफूले ल्याएको भनेर यो सरकारले अनावश्यक प्रचार गरेकोमा आलोचना गर्नुभयो।

‘शान्ति सुरक्षा कायम गर्न नसक्ने सरकार यो काम गरें, त्यो काम गरें भन्छ, जनतालाई भ्रममा पार्न पाइँदैन’, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले भन्नुभयो– ‘मैले संविधान संशोधन गर्नुपर्छ भनेको थिएँ तर यो सरकारले जनताको त्यो भावनालाई सम्बोधन गर्नेतर्फ ध्यान दिएको छैन।’ निर्मला पन्तका हत्यारालाई पक्रन नसक्ने सरकारले गर्नुपर्ने काम नगरेर अनावश्यक हल्लामात्र गरेको उहाँको टिप्पणी थियो।

धार्मिक कार्यक्रममा सरकार सहआयोजक भएकोप्रति देउवाको आपत्ति थियो। उहाँले कर्मचारी समायोजन अध्यादेश ल्याउनुको सट्टा पहिले नै प्रस्तुत गरिएको ऐन संशोधन गर्न उपयुक्त हुने बताउनुभयो। कर्मचारीको भावनाविपरीत समायोजन नगर्न सरकारलाई सुझाव दिँदै देउवाले भन्नुभयो– ‘हामी आज आउँछौं, भोलि जान्छौं, स्थायी सरकार भनिने कर्मचारीलाई दुःख दिएर हुन्छ ?’

उहाँले वाइड बडी विमानमा भ्रष्टाचार भएको समाचारबारे सरकारसँग सत्यतथ्य माग पनि गर्नुभयो। पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति पार्टी नेपालका सांसद् डा। बाबुराम भट्टराईले सरकारको पक्षमा राम्रो सन्देश नगएको बताउनुभयो। ‘म भर्खरै मात्र विभिन्न देश घुमेर आएँ, सरकारको पक्षमा नराम्रो मात्र सुनिएको छ, टिकिरहनु मात्र स्थिर सरकार होइन’ भट्टराईले भन्नुभयो– ‘यो सरकार बनेपछि जनताले प्रत्यक्ष अनुभूति हुने गरी केही सुबिधा पाएका छैनन्, सरकारले फरक चश्मा लाइसकेको छ।’

सरकारबाहिर हुँदा एउटा र सरकारमा रहँदा अर्को कुरा गर्ने चरित्र कम्युनिस्टको हुन नहुने उहाँको तर्क थियो। भट्टराईले सरकारले शहीद, बेपत्ता तथा अंगभंग भएका परिवारलाई वेवास्ता गरेको र उनीहरूको न्युनतम् आवश्यकता पूरा गर्नेतर्फ चासो नदिएकोमा आपत्ति जनाउनुभयो।

‘शिक्षा, स्वास्थ्य जनताको आवश्यकता हो तर यसैमा व्यापार भइरहेको छ, यो राम्रो लक्षण होइन’ उहाँले भन्नुभयो– ‘सामान्य विषयमा पनि सरकार चुक्नु राम्रो संकेत होइन, जे गर्न सकिन्छ गर्नु र भन्नु, गर्न नसकिने सक्दिन भन्नु जनतालाई भ्रममा पार्नहुँदैन।’ भट्टराईले आफू अर्थमन्त्री र हिसिला यमी पर्यटनमन्त्री हुँदा बाइडबडी विमान किन्ने तयारी भएको प्रष्ट पार्नुभयो। उहाँले नयाँ वाइडबडी विमान नकिनेकोमा र आइरहेको अनियमितताको घटनाबारे प्रष्ट पार्न सरकारलाई आग्रह गर्नुभयो।

राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका सांसद राजेन्द्र महतोले प्रधानमन्त्री, सरकार, नेकपा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको तीव्र आलोचना गर्नुभयो। दाहालप्रति व्यङ्ग्य गर्दै महतोले भन्नुभयो– ‘तपाई मान्छे मारेर प्रधानमन्त्री हुने, हाम्रो पार्टीको नेताले त्यत्रो भोट ल्याएर निर्वाचन जित्दा पनि जेलमा बस्नुपर्ने, यस्तो विभेद के हो रु महतोले पीडा सहनुको पनि हद हुन्छ।

महतोले टोलटोलमा सरकार भेटिनुपर्ने पोलपोलमा भेटिएको भन्दै व्यङ्ग्य गर्नुभयो। प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘प्रशासकीय अदालत विधेयक, २०७५’ टेबुल गर्नुभएको थियो भने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत गर्नुभएको थियो।
दोस्रो बैठकमा पूर्वसांसदहरू चक्रप्रसाद बास्तोला, पद्मरत्न तुलाधर र मोतिदेवी थारुको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो। संसद्को अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने बताइएको छ।