निर्मला हत्या प्रकरणः मुख्य शंकास्पदको रुपमा प्रस्तुत गरिएका प्रदीप रावल थुनामुक्त

0
Shares

काठमाडौं
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका प्रदीप रावल थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनीमाथि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मुद्दा चलाएको थियो । अनुसन्धान गर्न उनीमाथि म्याद थप गरिएको भए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीमाथि निर्मला हत्याकाण्डमा अनुसन्धान गरिरहेको थियो । उनीमाथि प्रहरीले ४ पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । उनलाई पक्राउ गरेपछि पहिलो पटक ७ दिन, त्यसपछि ३ पटक ५ दिन म्याद थप गरिएको थियो ।

रावलले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नता स्वीकार गरिसकेको भन्दै प्रहरीले सञ्चार माध्यममा सूचना जारी गरिसकेको थियो । तर, उनले साबिती बयान दिएको खबर पाएलगत्तै महानिरीक्षक सर्वेन्द्र खनालसहित राति नै उनको बयान लिन सीआईबी पुगेका थिए । यसअघि रावलको बयानका आधारमा नियन्त्रणमा लिइएको भनिएका अर्का युवक विशाल चौधरी पनि थुनामुक्त भैसकेका छन् ।

गत साउन १० गते पन्तको बलात्कारपछि हत्या भएको थियो । घटना भएको १५० दिन बितिसक्दा पनि अपराधी भने अझै पत्ता लाग्न सकेको छैन ।