सिन्धुपाल्चोकको बालशिक्षा मावि ५५ वर्षमा

0
Shares

सिन्धुपाल्चोक ।
१ नम्बर निर्वाचन क्षेत्रको केन्द्र खाडीचौरस्थित बालशिक्षा माध्यमिक विद्यालय ५५ वर्षमा प्रवेश गरेको छ । सोमबार भव्य कार्यक्रम गर्दै बालशिक्षा माध्यमिक विद्यालयले स्थापनाको ५४ औं वार्षिकोत्सव मनाएको छ ।

प्रदेश सांसद एवम ३ नम्बर प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले विद्यालयको वार्षिकोत्सव समारोहको उद्घाटन गरेका हुन् । विद्यालय वार्षिकोत्सव समारोहमा बोल्दै सांसद नेपालले तिन तहका निर्वाचन पश्चात मुलुक विकास र समृद्धिको मार्गमा अघि बढिरहेको बताए । गणतन्त्र र नयाँ संविधान नेपाली जनताका लागि ठूलो उपलव्धी भएको भन्दै गणतन्त्र र संविधान विरोधी तत्वहरु मुलुकमा केहि परिवर्तन नभएको भनि जनमानसमा भ्रम छरिरहेको बताए ।

शैक्षिक गूणस्तर उठाउनका लागि सामुदायिक विद्यालयहरु चुकिरहेको भन्दै उनले अबको शिक्षा गूणस्तरीय र जनमुखी हुनुपर्ने बताए । पाठ्यसामाग्री जनमुखी नहुन्दा पनि अहिलेको शिक्षामा गूणस्तरीयता नदेखिएको उनले जिकिर गरे । ‘भौतिक अभाव र अन्य धेरै समस्या छन्, पाठ्यसामाग्री नै जनमुखी छैन’, सांसद नेपालले भने । मुलुक विकास र समृद्धिको महायात्रामा अघि बढिरहँदा शैक्षिक क्षेत्रमा परिवर्तन हुनुपर्ने सांसद नेपालले बताए ।‘समृद्धिको एउटा आधार शिक्षा नै हो, शिक्षामा परिवर्तन गरेर नै समृद्धिको महायात्रामा अघि बढ्ने हो’, उनले भने,–‘अबको शिक्षा बैज्ञानिक, व्यवहारीक र जनमुखि हुनुपर्दछ ।’

कार्यक्रममा बोल्दै पूर्व सभासद राजकुमार श्रोष्ठ, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख गौरीशंकर पाण्डे, जिल्ल आयोजना कार्यान्वयन इकाई(शिक्षा) का प्रमुख कृष्ण सुवेदी,महिला नेतृ अमृता नेपाल, शिक्षासेवी कृषप्रसाद आचार्य, डाक्टर विनोद नेपाल लगायतले विद्यालयको प्रग्तीको कामना गरेका थिए । वार्षिकोत्सव समारोहमा विद्यालयका प्रअ बासु पौड्यालले वार्षिक प्रगती प्रतिवेदन प्रस्त्ुत गरेका थिए भने लेखापाल सिताराम पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । वार्षिकोत्सवका अवसरमा विद्यालयले आयोजना गरेको गाउँपालिका स्तरीय हाजिरीज्वाफ प्रतियोगितामा प्रथम हुने सोहि विद्यालयका विद्यार्थी र द्धितिय हुने जालपादेवी मावि र ग्रीनल्याण्ड माविलाई प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो ।

१ नम्बर क्षेत्रको केन्द्र बजारमा रहेको बालशिक्षा माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा संचालनका लागि आफुहरु लागिपरेको प्रधानाध्यापक बासु पौड्याल बताउँछन् । ‘हामी यस विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्दैछौं, सिकाई उपलव्धी अभिवृद्धि गर्न विभिन्न योजना अघि सारेका छौं’, उनले भने । विद्यालय परिसरमा घेरावारको व्यवस्था गर्ने, प्राविधिक शिक्षा संचालन गर्ने, सेवाक्षेत्रका बालबालिकालाई यस विद्यालयमा ल्याउनका लागि स्कुल वसको व्यवस्था गर्ने लगायतका योजना अघि सारीएको विव्यस अध्यक्ष एवम वडाध्यक्ष कार्केल लामा बताउँछन् ।

हरसाल जग्गाकै कुरा
बालशिक्षा माध्यमिक विद्यालयको वार्षिकोत्सवमा हरसाल जग्गाको विषयले प्राथमिकता पाउँछ । यसअघिजस्तै यसपटक पनि विद्यालयको जग्गा स्थानीयले अतिक्रमण गरेको सवाल जोडतोडले उठाइएको छ । खाडीचौर बजारवासीले विद्यालयको जग्गा अतिक्रमण गरि भोगचलन गर्दै आएका छन् । विद्यालय परिसरदेखि अमलटारसम्मको झण्डै ३० रोपनी जग्गा विद्यालयकै नाममा दर्ता छ, विद्यालयको लेखा हेर्दै आएका शिक्षक सिताराम पराजुलीका अनुसार विद्यालयले उक्त जग्गाको तिरो तिर्र्दै आएको छ तर स्थानीयले घर संरचना बनाई भोगचलन गर्दै आएका छन् ।

हरसाल विद्यालयको जग्गा अतिक्रमण रोक्ने कुरा उठ्ने गरेको भएपनि हालसम्म जग्गा अतिक्रमण रोक्न नसकिएको विद्यँलय व्इवस्थापन समिति र विद्यालय प्रशासनले स्वीकार गरेको छ । वार्षिकोत्स्व र अभिभावक भेलामा जग्गा अतिक्रमण रोक्ने कुरा उठ्छ, अरु बेलामा अतिक्रमण रोक्न कुनै पहल र प्रयास हुँदैन’, विव्यसका पूर्व अध्यक्ष एवम स्थानीय थरीप्रसाद पराजुलीले भने ।

विद्यालय,अभिभावक र स्थानीय समुदायबीच छलफल गरि जग्गाको सवाल टुंग्याउनुपर्ने विव्यस अध्यक्षसमेत रहेका वडाध्यक्ष कार्केल लामा बताउँछन् । जग्गा अतिक्रमणको सवाललाई यथासिघ्र टुंग्याउने उनले बताए । बालशिक्षा माध्यमिक विद्यालयको जग्गा अतिक्रमणको सवाल वर्षौ अघिदेखि उठ्दै आएको भन्दै बलेफी गाउँपालिका शिक्षा शाखाका निमित्त प्रमुख गंगाप्रसाद पौड्याल जग्गा अतिक्रमण रोक्नका लागि सम्वन्धित सरोकारवालाहरु एकजुट बन्नुपर्ने बताउँछन् ।