बैंकहरूलाई भारतबाट ऋण ल्याउन सहज

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाली बैंकहरूले भारतीय बैंकबाट ऋण ल्याउने नेपाल राष्ट्र बैंकले मार्ग प्रशस्त गरेको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई पर्यटन, कृषि क्षेत्र र लघुवित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको हो।

भारतबाट ल्याउने सो ऋण जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा, प्रसारणलाइन, शुरूङमार्ग निर्माण, विमानस्थल, केबलकार, पुल जस्ता भौतिक पूर्वाधारका क्षेत्रमा भने त्यस्तो रकम ऋणमा दिन पाउने छैनन्। पुँजी कोष कायम गरेका बैंकले त्यस्तो ऋण लिन सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने राष्ट्र बंैकले जनाएको छ। भारतीय मुद्रामा ऋण लिँदा अन्य परिवत्र्य विदेशी मुद्रामा ऋण लिएको भए सो समेत गरी कुल प्राथमिक पँुजीको ५० प्रतिशतको सीमाभित्र रहनुपर्ने प्रावधान राष्ट्र बैंकले राखेको छ।

त्यस्तै बैंक तथा वित्तीय संस्थालाई अन्तर्राष्ट्रियरूपमा वित्तीय कारोबार गर्न कुनै प्रकारको रोक तथा प्रतिबन्ध लागेको हुन नहुने तथा त्यस्तो ऋणको भुक्तानी न्यूनतम एक वर्ष र अधिकतम पाँच वर्षको हुनुपर्नेछ। यद्यपि, राष्ट्र बैंकले स्वीकृति दिएमा त्यस्तो ऋणको नवीकरण गर्न सकिने राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ। यस्तो ऋणका लागि कुनै पनि प्रकारको धितो, जमानत, बैंक ग्यारेन्टी दिन पाइने छैन।