५ अर्बको लागतमा बनेको ‘छाँया सेन्टर’ सञ्चालनमा

0
Shares

काठमाडौं, (नेस)
पर्यटकीय केन्द्र ठमेलमा ‘छाँया सेन्टर’ सञ्चालनमा आएको छ। ‘ठमेलभित्रको ठमेल’ नाराका साथ मंगलबार कम्प्लेक्सको शुरूवात गरिएको हो।
छाँया सेन्टर नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भएको सञ्चालकको दाबीे छ। कम्प्लेक्समा ठमेल बजारमा पर्यटनसँग जोडिएका सबै किसिमका सेवा एकै ठाउँमा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ भनिएको छाँया सेन्टर व्यवस्थापनको भनाइ छ। पर्यटकीय व्यावसायिक गन्तव्यका रूपमा छाँया सेन्टर सञ्चालनमा ल्याइएको हो। कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्यांङक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लबलगायत सुविधा पनि उपलब्ध छन्।

यस्तै बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालय पनि सेन्टरमा रहनेछन्। छाँया सेन्टरमा पाँच तारेस्तरको होटल आगामी मार्च महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको सञ्चालक सुमन पाण्डेले जनाकारी दिनुभयो। उहाँको अनुसार सो कम्प्लेक्समा क्यासिनो,सहित २ सय ५० भन्दा बढी आउटलेट रहनेछ। अहिले होटलको इन्टेरियर डिजाइनको काम हुँदैछ, १५ तले भवनको पाँचौंदेखि १५औं तलासम्म अलफ्ट होटल सञ्चालन हुनेछ। होटलसँगै छाँया सेन्टरमा क्यासिनो पनि सञ्चालनमा आउने बताइएको छ।

ठमेलमा करिब १५ रोपनी क्षेत्रफलमा निर्माण भएको व्यापारिक कम्प्लेक्स सन् २०१३ बाट निर्माण थालिएको थियो। ५ अर्ब रुपियाँभन्दा माथि रहेको कम्प्लेक्समा तीन सय बढी सवारी पार्क गर्न मिल्ने अन्डरग्राउन्ड बेसमेन्टमा पार्किङस्थल निर्माण गरिएको छ।

नेपाल इन्भेष्टेमन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको नेतृत्वमा बैंकिङ, निर्माण, जलविद्युत्, व्यापार, उद्योग, पर्यटनलगायत विभिन्न क्षेत्रका व्यवसायीको सहभागितामा छाँया सेन्टर सञ्चालनमा आएको हो।