सिमेन्टको मूल्य ओरालो लाग्यो

0
Shares

वीरगन्ज, (नेस)
केही महिनायता सिमेन्टको मूल्य निरन्तर ओरालो लागेको छ। सिमेन्टमा ठूलो लगानी भित्रिएसँगै भाउ घट्न थालेको हो। उत्पादकबीच तीव्र प्रतिस्पर्धा र बजार विस्तार अपेक्षित हुन नसक्दा दिनहुँ मूल्य घटाउनु परेको उद्योगीले बताएका छन्।’

अघिल्लो वर्ष क्लिंकर आपूर्तिमा अवरोध भएका बेला बढेको सिमेन्टको भाउ अहिले ओरालो लागेको हो। प्रतिबोरा सिमेन्टको मूल्य १ सय ५० रुपियाँसम्म घटेको बताइएको छ। अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट ९ओपीसी०को कारखाना मूल्य प्रतिबोरा ८ सय ५० रुपियाँसम्ममा झरेको उद्योगीले बताए। एक वर्षअघिसम्म ओपीसीको मूल्य बोराको ९ सय ५० रुपियाँसम्म पुगेको थियो। सन् २०१७ डिसेम्बर २२ देखि वीरगन्ज नाकाबाट क्लिंकर आयात अवरुद्ध छ। भारतीय रेलवेको रक्सौल यार्डबाट क्लिंकर लोडअनलोडमा प्रतिबन्ध अझै खुलेको छै्रन।

पोर्टल्यान्ड पोजोलना सिमेन्ट ९पीपीसी० को मूल्य बोरामा १ सय १० रुपियाँसम्म झरेको उद्योगी बताउँछन्। अहिले उद्योगले ६ सय ९० देखि ७ सय २० रुपियाँसम्ममा पीपीसी सिमेन्ट बेचिरहेका छन्। ६ महिना अघिसम्म यो सिमेन्टको भाउ बोराका ८ सय रुपियाँ थियो। रक्सौलमा क्लिंकर लोडअनलोड रोकिएपछि बारा–पर्साका ग्रान्डिङमा आधारित सिमेन्ट उद्योग बढी प्रभावित भएका थिए। कच्चा पदार्थको ढुवानी लागत बढी परेपछि सिमेन्टको मूल्य बढाएका थिए। त्यसताका आफैं क्लिंकर उत्पादन गर्ने उद्योगले समेत मूल्य वृद्धि गरेका थिए।

श्री सिमेन्ट्स इण्डष्ट्रिजका प्रबन्ध निर्देशक अनिलकुमार अग्रवालले चर्को प्रतिस्पर्धाका कारण मूल्य निरन्तर ओरालो लागेको बताउनुभयो। ‘पछिल्लो समय सिमेन्टमा ठूलो परिमाणमा लगानी त आयो, तर बजार विस्तार अपेक्षित हुन सकेको छैन,’ वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका अग्रवालले भन्नुभयो–‘उद्योगहरू लागत मूल्यभन्दा पनि कम दाममा सिमेन्ट बेच्न बाध्य छन्।’ बितेको ६ महिनायता सिमेन्टको मूल्य घटेको हो। इन्टरनेसनल सिमेन्ट्सका सञ्चालक सन्दीप अग्रवाल उत्पादनमा नयाँ उद्योगको आगमन र प्रतिस्पर्धाले मूल्य घटेको बताउनुहुन्छ। अहिले स्वदेशी बजारमा करिब ६ दर्जन उद्योगबीच प्रतिस्पर्धा छ।

सिमेन्टको मूल्य निरन्तर घटिराख्दा बारा र पर्साका सिमेन्ट उद्योग भने दोहोरो सकस झेल्न बाध्य छन्। आन्तरिक बजारमा बढ्दो प्रतिस्पर्धाका कारण मूल्य घटाइरहेका उद्योग कच्चा पदार्थको आपूर्तिमा बेग्लै पीडा खेपिरहेका छन्। गत वर्ष डिसेम्बरदेखि भारतीय रेलवेको रक्सौल यार्डमा क्लिंकर लोडअनलोड रोकिएपछि यहाँका उद्योगले १ सय २५ किलोमिटर टाढाको नारायणपुरबाट ढुवानी गरिरहेका छन्। यसबाट उत्पादन लागत बढी परेको उद्योगी आग्रवाल बताउनुहुन्छ। बारा–पर्सा कोरिडोरमा १३ वटा उद्योग आयातित कच्चा पदार्थको भरमा चलेका छन्।