नेपाल समाचारपत्र, भक्तपुर
नेपाल तरुण दलका महामन्त्री एवं नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले देशभरका युवालाई रोजगारी दिने गरी देशव्यापी अभियान शुरू गर्न लागेको बताउनुभएको छ। मंगलबार मध्यपुरथिमिको राधे राधे चोक ग्लोरी स्कुलनजिकै सञ्चालनमा आएको ‘द रोयल बर्गर हाउस’ को उद्घाटन गर्दै उहाँले नेपाल तरुण दलले अब देशव्यापी अभियान शुरू गर्ने भएको बताउनुभएको हो।
शाहीले भन्नुभयो– ‘आगामी माघ महिनादेखि उपत्यकालगायत देशको सात वटै प्रदेशमा ‘उद्यमशील युवा सिर्जनशील युवा’ अभियान शुरू गर्न लागेको छ, यसका लागि देशका सफल र ठूला उद्योगी व्यवसायीसँग तरुण दलले छलफल गरिरहेको छ।’ पहिलो चरणमा देशभरका १० हजार युवालाई उद्यमी बनाउने उद्देश्य रहेको बताउँदै उहाँले व्यवसायमा सफल हुने सूत्रसहित युवालाई उद्यम र व्यवसायमा लगाउने बताउनुभयो।
महामन्त्री शाहीले अहिले ५० लाख युवा रोजगारीका लागि विदेशिनुपरेको बताउँदै राज्यमा ठूलो चुनौतिको रूपमा रहेको युवा बेरोजगारी समस्या रहेको बताउनुभयो। उहाँले नेपाली कांग्रेसको महासमिति बैठकले कांग्रेस पार्टीभित्रको विवाद र समस्या समाधान गर्न सफल भएको बताउँदै कांग्रेस अब एक ढिक्का भएर अगाडि जाने बताउनुभयो। महासमिति बैठकको सुखद समापनले कांग्रेसका तल्लो तहका कार्यकर्तासम्मलाई हौसला र ऊर्जा मिलेको उहाँको भनाइ छ।
महामन्त्री शाहीले सरकार उखान टुक्कामा मात्रै सफल भएको टिप्पणी गर्दै प्रतिपक्षले सरकारबाट गरेको कुनै अपेक्षा पूरा नभएको र निरंकुश पवृत्तिबाट सरकार अगाडि बढेको आरोप लगाउनुभयो। सिन्धुपाल्चोक चौतारा घर भएका युवा व्यवसायी राकेश श्रेष्ठ, विजय श्रेष्ठ र राजकुमार श्रेष्ठको ४० लाखको लगानीमा बर्गर हाउस सञ्चालनमा आएको बताउँदै बर्गर हाउसका निर्देशक राकेश श्रेष्ठले उपत्यकाका १० ठाउँमा यसको शाखा सञ्चालन गरेर व्यवसाय विस्तार गर्न लागेको बताउनुभयो।
कार्यक्रममा नेपाल महिला संघकी भक्तपुर अध्यक्ष सरु बानियाँ, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, वरिष्ठ उपध्यक्ष सगुन श्रेष्ठ, नेविसंघका नेता पे्रम जिसी, नेविसंघ सानोठिमी क्याम्पसका एकाइ अध्यक्ष सतिस श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए।











प्रतिक्रिया