सलिम अन्सारी, प्यूठान
जिल्लाको समग्र विकासमा रणनैतिक महŒव बोकेको मानिएको बाग्दुला–भीमगिठे सडकको निर्माण कार्य अझै शुरू हुन सकेको छैन।
भारतीय एक्जिम बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजना निर्माणका लागि दशैंअगाडि निर्माण कम्पनी छनोट गर्ने भनिए पनि अझैसम्म सो कार्य हुन नसक्दा आयोजनाको निर्माण कार्य शुरू हुन नसकेको हो।
सडक विभाग सडक सुधार आयोजना बत्तीसपुतली काठमाडौंका संयोजक सुशील बाबु ढकालले टेन्डर गरेका निर्माण कम्पनीमध्ये प्रस्तावित निर्माण कम्पनीको बारेमा उजुरी परेपछि भारतीय पक्षले सोबारे स्पष्टीकरण मागेको बताए। उनका अनुसार स्पष्टीकरण भारतीय पक्षलाई पठाइसकिएको छ।
‘निर्माण कम्पनी छनोट प्रक्रियाको यो नियमित चरण हो। कहिलेकाहीं यस्ता समस्या आउने गर्दछन्। हामीले भारतीय पक्षलाई आश्वस्त पार्ने गरी स्पष्टीकरण पठाइसकेका छौं। आशा गरौं, चाडै भारतीय पक्षले निर्णय दिनेछ’ –उनले भने।
सडक विभाग सडक सुधार आयोजनामार्फत करिब तीन अर्बको लागतमा २ लेनको सडक निर्माण गर्ने योजना रहेको छ। आयोजना निर्माणका लागि भारतीय एक्जिम बैंकको ऋण सहयोग रहने भएको कारण कम्पनी छनोट प्रक्रियामा भारतको चासो रहने गरेको बताइन्छ।
निर्माण कम्पनी छनोट नभइसकेकाले आयोजना प्रमुख छनोट कार्य अझै हुन सकेको छैन। आयोजनास्थलमा निर्माण कम्पनी र परामर्शदाताको कार्यालय स्थापना गरी निर्माण कार्य अगाडि बढाइने बताइएको छ। ३ वर्षअगाडि विस्तृत अध्ययन गरिएको थियो। आयोजना निर्माण सम्पन्न भएपछि करिब ११ हजार परिवारबाट आयोजनाबाट लाभान्वित हुने बताइन्छ।
बाग्दुलादेखि बाग्लुङको भीमगिठेसम्मको दूरी ७३ किलोमिटर रहेको छ। जिल्लाको विकट मानिने गौमुखी गाउँपालिकाका बासिन्दा यो योजनाबाट प्रत्यक्ष लाभान्वित हुने स्थानीय बताउँछन्। बाग्दुलादेखि बाग्लुङको सीमासम्म प्यूठान नगरपालिका हुँदै झिमरुक र गौमुखी गाउँपालिकाका विभिन्न वडा समेटिन्छन्।
यो सडक निर्माण सम्पन्न भएमा प्यूठान गुल्मी, रोल्पावासीलाई पोखरा तथा सोही सडकमार्फत काठमाडौंसम्म पुग्नसमेत वैकल्पिक मार्ग खुल्नेछ। दाङको कोइलावासदेखि भालुवाङ–बाग्दुला–भीमगिठे–मुस्ताङ हुँदै चीन जोड्नसमेत सकिने बताइन्छ। धार्मिक हिसाबले पनि भारतीय पर्यटक स्वर्गद्वारी हुँदै मुक्तिनाथसम्म पुग्नको लागि यो मार्ग सहज हुनेछ।











प्रतिक्रिया