प्रभावकारी बन्दै प्रारम्भिक तह पढाइ कार्यक्रम

0
Shares

धनवीर दाहाल, रुकुम
रुकुममा सञ्चालित प्रारम्भिक तह पढाइ कार्यक्रम प्रभावकारी भएको निष्कर्ष अनुगमन टोलीले निकालेको छ। रुकुम पूर्व र रुकुम पश्चिममा सञ्चालित प्रारम्भिक तह पढाइ कार्यक्रमले बालबालिकाको पढाइमा विगतभन्दा अधिकतम सुधार आएको निष्कर्ष निकालिएको हो।

विश्व खाद्य कार्यक्रमको आर्थिक तथा विश्व शिक्षाको प्राविधिक सहयोगमा मिक नेपाल रुकुमद्वारा सञ्चालित प्रारम्भिक तह पढाइ कार्यक्रमको प्रभावकारिता तथा प्रभावलाई अनुगमन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट टोली रुकुम पुगेको थियो।

मन्त्रालयका गोपाल नारायण श्रेष्ठ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका घनश्याम अर्याल, पाठ्यक्रम विकास केन्द्रका निमप्रकाश राठोर, शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्रकाश कुमार खरेल, विश्व शिक्षाका मोहनप्रसाद भुर्तेल, बविता श्रेष्ठ र प्रमोदकुमार विष्ट तथा मिक नेपालकी सीता विष्टद्वारा अनुगमन गरिएको थियो।

बाँफिकोट गाउँपालिका शिक्षा प्रमुख लालसिंह खड्काले प्रारम्भिक तह पढाइ कार्यक्रम लागू भएपश्चात विद्यालयमा बालबालिकाको पढाइमा सुधार आएको र पठनपाठन गर्न गराउन पनि शैक्षिक सामग्रीले योगदान पु¥याएको बताउनुभयो। उहाँले बाँफिकोट गाउँपालिकाको सम्पूर्ण विद्यालयमा यो कार्यक्रम लागू गर्न माग गर्दै गणित तथा अंग्रजी विषयका लागि पनि शिक्षकलाई तालिम तथा सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनुभयो। बाँफिकोट गाउँपालिकाका स्रोत व्यक्ति लोकबहादुर खड्काले प्रारम्भिक तह पढाइ कार्यक्रमअन्तर्गत गरिएका क्रियाकलापले बालबालिकाले पढाइप्रति चासो लिएको र विद्यालयमा शैक्षिक सामग्री प्रयोग गरी शिक्षण गराउन र सिक्नलाई प्रभावकारी भएको बताउनुभयो।

विद्यालयमा विद्यार्थी निकै उत्साहितका साथ सामग्रीहरूसँगै खेल्दै र सिक्दै गरेको पाइएको मिक नेपालका अध्यक्ष भिउमान घर्तीले बताउनुभयोे। तालिमपश्चात स्तर निर्धारण गरी विद्यालयको स्तरअनुसार उपचारात्मक शिक्षण गरिरहेको नवज्योति विद्यालयका प्रधानाध्यापक खिमबहादुर खत्रीले बताउनुभयो। विद्यार्थीको स्तर पहिचान गरी शिक्षण गर्दा शिक्षकलाई सहजता भएको र विद्यार्थीमा पनि सकारात्मक प्रतिस्पर्धाको विकास भएको शिक्षकहरूले बताएका छन्। यस्तै विद्यालयमा विद्यार्थीको बसाइँ व्यवस्थापन शिक्षण सिकाइ क्रियाकलाप र अभिभावकमा विद्यालय र आफ्ना बालबालिकाको पठन सीप विकासका लागि सकारात्मक सोचको विकास भएको निष्कर्ष मन्त्रालयको अनुगमन टोलीको छ।