नगरपालिकाभित्रकै सामुदायिकमा घट्दै विद्यार्थी, राज्यको लाखौं खर्च बालुवामा पानी

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
दूर दराजका गाउँमा मात्रै होइन पर्वतको सदरमुकाम रहेको कुश्मा नगरपालिकाभित्रैका सामुदायिक विद्यालयमा समेत विद्यार्थी संख्या निरन्तर ओराली लागिरहेका छन्। विद्यार्थी संख्या घट्दै जाँदा कतिपय विद्यालयमा शिक्षकभन्दा विद्यार्थी थोरै हुन थालेका कारण राज्यको लाखौं रुपियाँ बालुवामा पानी भइरहेको छ।

कुस्मा वडा नम्बर–१० स्थित लाकुरी आधारभूत विद्यालयमा तीन जना उपस्थित थिए, तर विद्यालयमा चार जना शिक्षकको दरबन्दी नै कायम छ। विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले विद्यालयमा जम्मा छ जना विद्यार्थी रहेको दाबी गरे पनि संख्या भने पाँच जनाभन्दा बढी छैनन्। ‘आज नआएर हो, छ जना विद्यार्थी नियमित पढ्छन्’ –उनले भने। विद्यार्थी हाजिरी रजिस्टरमा भने १५ जना विद्यार्थी भर्ना भएको देखिन्छ। यहाँका विद्यार्थी निजीमा पढ्छन् र सामुदायिक विद्यालयमा हाजिर गर्दै परीक्षा पनि दिँदै आएको भेटिन्छ। कक्षा १ र ३ मा एक जना पनि विद्यार्थी छैनन्। कक्षा–२ मा दुई जना, कक्षा–४ मा एक जना र कक्षा ५ मा एक जना विद्यार्थी भएको प्रधानाध्यापक शर्माले जानकारी दिए। बालकक्षामा दुई जना बालबालिका छन्।

कुश्मा नगरपालिका–१० कै पीपलटारी आधारभूत विद्यालयमा बालकक्षासहित छ जना विद्यार्थी छन्। कक्षा–१, ४ र ५ विद्यार्थीविहीन रहेको यो विद्यालयको कक्षा २ मा दुई र कक्षा–३ मा तीन जना विद्यार्थी छन्। बालकक्षामा एक जना छन्। स्थापनाकालमा ९५ जनासम्म बालबालिका रहेको यो विद्यालयमा विद्यार्थी हरेक वर्र्ष घट्दै गएर अहिले छ जना विद्यार्थीमा सीमित भएको हो। यो विद्यालयमा विद्यार्थी नभए पनि बालकक्षासहित चार शिक्षक कर्मचारी रहेका छन्।

कुश्मा नगरपालिका वडा नम्बर ९ मा रहेको गायत्री आधारभूत विद्यालयमा पुग्दा ११ जना मात्रै विद्यार्थी उपस्थित थिए। कक्षा १ मा तीन जना, कक्षा २ मा तीन जना, कक्षा ३ मा तीन जना, कक्षा ४ र ५ मा एक÷एक जना विद्यार्थी रहेको यो विद्यालयमा पाँच जना शिक्षक रहेका छन्। अंग्रेजी माध्यममा पढाए पनि विद्यार्थी आकर्षित गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक पिताम्बर अधिकारीले बताए। शैक्षिक गुणस्तरमा कमी नभए पनि विद्यार्थी घट्दा आफू पनि चिन्तित भएको अधिकारीले जानकारी दिए। ‘६०÷६१ सालमा ९० जनासम्म बालबालिका यो विद्यालयमा पढ्न आउने गरेका थिए’ –उनले भने।

ठुलीपोखरीकै वसन्त आधारभूत विद्यालयमा कक्ष १, २ र ४ मा एक जना पनि विद्यार्थी छैनन्। कक्षा ३ मा तीन जना र कक्षा ५ मा दुई जना विद्यार्थी मात्रै रहेका छन्। बालकक्षामा पाँच जना छन्। विद्यार्थी घटे पनि यो विद्यालयमा बालकक्षा शिक्षकसहित पाँच शिक्षक रहेका छन्।

कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जहाँ विद्यार्थी त्यहाँ शिक्षक अभियान चलाउनुपर्ने अवस्था आएको बताउँछन्। ‘कतै विद्यार्थी धेरै छन्, शिक्षक अभाव छ, तर कतै विद्यार्थी नै छैनन्, शिक्षक मात्रै छन, त्यसैले पनि जहाँ विद्यार्थी त्यहाँ शिक्षक अभियान चलाउनुपर्ने अवस्था आएको छ’ –क्षेत्रीले भने। सामुदायिक विद्यालयका शिक्षकले अझै पनि अभिभावकको मन जित्न नसकेको उनको भनाइ छ।