विद्युत् महसुल काउन्टर नहुँदा जनतालाई सास्ती

0
Shares

विनोदसिंह विष्ट, बैतडी
सदरमुकाम गोठलापानी र पाटनबाहेक जिल्लाका अन्य स्थानमा विद्युत् महसुल काउन्टर नहुँदा बैतडी ग्रामीण क्षेत्रका नागरिकलाई सास्ती हुने गरेको छ। ग्रामीण क्षेत्रमा नागरिक विद्युत् महसुल तिर्नकै लागि हजार बढी रुपियाँ खर्च गर्न बाध्य भएका छन्।

जिल्लाका विभिन्न स्थानका नागरिकले असी रुपियाँ विद्युत्को बिल तिर्न २ हजार बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। महसुल तिर्नका लागि सदरमुकाम र पाटनमा मात्रै व्यवस्था भएकाले महसुल तिर्नका लागि निकै झन्झट हुने गरेको डिलाशैनी गाउँपालिका गोकुलेश्वरका हरिश नाथले बताए।बैतडी सदरमुकामसम्म आवतजावत गर्न, खाना खर्चसहित असी रुपियाँ बिल तिर्नका लागि दुई हजार बढी खर्च गर्नुपर्ने नाथले बताए।

जिल्लाको डिलाशैनी, दोगडाकेदार, पाटन नगरपालिकाको–१०, सुर्नया गाउँपालिकाका विभिन्न स्थानका नागरिकले विद्युत् बिल तिर्नका लागि दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। विद्युत् महसुल काउन्टर नजिक नभएकाले सेवाग्राहीले सास्ती भोग्नुपरेको सुर्नया गाउँपालिका–५ का दीपेन्द्रबहादुर विष्टको गुनासो रहेको छ।

विद्युत् महसुल संकलनका लागि स्थानीयस्तरमै काउन्टर सञ्चालन गर्ने कुनै योजना नरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिए। महसुल काउन्टर स्थापनाका लागि प्राधिकरणको केन्द्रीय कार्यालयले मात्रै स्थापना गर्ने बताइएको छ। ‘दुर्गम ठाउँका सेवाग्राहीका लागि तीन महिनाको एकैचोटी रिडिङ गर्ने र न्यूनतम शुल्क लिने गरी महसुल संकलन गर्ने गरिएको छ’, उनले भने– ‘सुरक्षा, भौगोलिक विकटता र कर्मचारीको अभावमा तत्कालै महसुल काउन्टर स्थापना हुने सम्भावना न्यून छ।’

महसुल तिर्नका लागि झन्झट भएको उपभोक्ताको गुनासो आए पनि जिल्ला स्तरबाट कुनै पहल गर्न सकिएको छैन।