एकैसाता १ सय ३४ बिगाहाको गाँजा नष्ट

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
भदौ अन्तिम सातादेखि शुरु गरिएको गाँजा तथा अफिम खेती फँडानी कार्यलाई अझ प्रभावकारी बनाउन मकवानपुर प्रहरीले ३ नम्बर प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी सहयोग पाएको छ।

थप प्रहरी परिचालन गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारबाही प्रक्रिया अझ बलियो बनाएको छ। राक्सिराङ, कैलाश, बकैया, बागमती गाउँपालिका, थाहानगर र हेटांैडा उपमहानगरका दुर्गम भागमा परम्परागत रूपमा लगाइएको गाँजा र अफिम खेती फँडानी गर्ने कार्यमा जिल्ला प्रहरीले प्रदेशको सहयोग पाएको हो।

लागूऔषध नियन्त्रणसम्बन्धी जिल्लाको कार्ययोजनाअनुसार दोस्रो चरणको फँडानी अभियान जारी छ। भदौदेखि हालसम्म ८ सय ३१ प्रहरी जनशक्ति परिचालित भएर २ सय ६२ बिगाहा १९ कठ्ठा १० धुरको गाँजा र ३१ बिगाहा ७ कठ्ठामा खेती नष्ट गरिएको अफिम खेती नष्ट गरिएको छ।

सोही क्रममा गत साता ६ वटा टोलीमा ३ सय ९० प्रहरी परिचालन गरी कार्यालय फर्किएको छ भने तत्काल अन्तिम टोलीअन्तर्गत् करिब ४ सय ५० प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ।

हिउँदको विषम मौसम, खानेबस्ने बन्दोबस्त नभएको, सवारीसाधनको पहुँच नभएका पहाडी भाग, कन्दरा तथा जंगलबीचमा लगाइएका अवैध गाँजा र अफिम खेती पैदल हिँडेर खोजी गर्ने र फँडानी गर्ने कार्य अत्यन्त चुनौतीपूर्ण रहे पनि गैरकानुनी कार्य नियन्त्रण कार्यमा प्रहरीमा उत्साह र लगनशीलता देखिएको प्रहरी नायब उपरीक्षक÷प्रवक्ता यज्ञप्रसाद भट्टराईले बताउनुभयो। गाँजा र अफिम फँडानीका क्रममा कहिँकतै कसैको यस्तो खेती छुट्न नपाओस् भनी व्यापक रूपमा खोजी गरी फँडानी गरिएको छ।