नेपाल समाचारपत्र, विराटनगर
प्रदेश नम्बर १ का अधिकांश सांसदले घरमै बसेर घरभाडाबापतको रकम लिँदै आएको पाइएको छ।
घरभएका सांसदहरूले पनि संसद् सचिवालयबाट घरभाडाबापतको रकम बुझिरहेका हुन्। प्रदेश नम्बर एकका झापा, मोरङ, सुनसरीका सांसदहरू घरबाट नै संसद्मा आउने गरेका छन्। घरैबाट धाए पनि उनीहरूले घरभाडा बुझ्नै आएको देखिन्छ।संसद् नियमावलीअनुसार १५ किलोमिटरभन्दा बाहिर घर भएका सांसदले घरभाडा लिन पाउने व्यवस्था गरेको छ। कानुनले सहजै बाटो खोलिदिँदा केही सांसदबाहेक सबैले कोठाभाडाबापत् पाउने १५ हजार लिँदै आएका हुन्।
प्रदेश १ संसदसभामा ९३ जना सांसदहरू रहेका छन्। तीमध्ये घरभाडा सुविधा नलिनेमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, सांसद कल्पनाकुमारी सरदार, चुमनारायण तवदार, विद्यानन्द चौधरी रहेका छन् भने नेकपाबाट यशोदा अधिकारी र सावित्रा रेग्मीले घरभाडा सुविधा नलिएको सांसद सचिवालयको तथ्यांकमा देखिन्छ।
विराटनगरमा नै घर भएका धेरै सांसदहरूले घरभाडा लिएको पाइएको छ। यसरी विराटनगरमा नै घर हुने नेपाली कांग्रेसका सांसद बिन्दिया कार्की, शान्ता पौडेल, शिवकुमार गन्गाईंले घरभाडाको रकम मासिक बुझ्दै आएका छन्। त्यस्तै नेकपाका लीलाबल्लभ अधिकारी, बसन्ती यादव, ज्ञानेश्वर राजबंशीले घर भएर पनि घरभाडाबापत्को रकम संसद् सचिवालयबाट बुझ्दै आएका छन्।
घरमै बसेर घरभाडा लिने सांसदहरू
संसद सचिवालयबाट घरभाडा लिएर घरबाटै संसदमा धाउने सांसदहरूको संख्या प्रदेश नम्बर एकमा ठूलै रहेको छ। सभामुख प्रदिप भण्डारी, उपसभामुख सरस्वती पोखरेलसहित अधिकांश सांसदहरू घरबाट नै संसद् बैठकहरूमा उपस्थित हुने गरेका छन् तर घरभाडाबापत्को रकम भने उनीहरूले बुझ्ने गरेका छन्।
त्यस्तै सुनसरी जिल्लाका सांसदहरू सबैले नै संसद्बाट १५ हजार घरभाडा लिँदै आएका छन्। ती सांसदहरूमा लिलम बस्नेत, सर्वध्वज साँवा, अगमलाल चौधरी, राजिव कोइराला, भीमप्रसाद आचार्य, चन्द्रप्रसाद श्रेष्ठ, ज्योती सुब्बा, नवोदिता कुमारी चौधरी, मोहम्मद ताहिर मियाँ, साबित्री जोशी रहेका छन्।
उनीहरू संसद् चलेको बेला घरबाट नै आउने गरेका छन्। धनकुटाको समानुपातिक सांसद विना राईको पनि धरानमा घर रहेकाले घरबाटै संसद् बैठकमा उपस्थित हुने गरेकी छिन्।
मोरङकै घरबाट धाउने सांसदहरूमा उपेन्द्रप्रसाद घिमिरे, कृष्णकुमारी राई, गुलेफुल मियाँ, राजकुमार ओझा, लोकप्रसाद संग्रौला, विजयकुमार विश्वास, शिवनारायण गन्गाईं, शेखरचन्द्र थापा, मोरङ जिल्लामै घर भएर पनि आफ्नै घरबाट सदन आउजाउ गर्ने सांसदहरूमा पर्दछन्। तर यी सबै सांसदहरूले हरेक महिना घरभाडा बुझ्दै आएका छन्।
सुनसरी र मोरङभन्दा टाढा रहेको झापाबाट घरदेखि नै धाउने संसदको संख्या अत्याधिक छ। झापाबाट करिब ३ घण्टामा विराटनगर आइपुगिने भएकाले अधिकांश सांसदहरू बैठकका दिन आउजाउ गर्ने गरेका छन्। झापाबाट प्रतिनिधित्व गर्ने सांसदहरूमा अर्जुन राई, एकराज कार्की, ओम सरावगी, गोपालचन्द्र बुढाथोकी, जसमायाँ गजमेर, झलकबहादुर मगर, पूर्णप्रसाद राजबंशी, बृखबहादुर प्रधान, बसन्तकुमार बानियाँ, श्रीप्रसाद मैनाली, हिराकुमार थापा र रामचन्द्र लिम्बू रहेका छन्। सांसद मैनालीको गाडीमा धेरै सांसदहरू आउजाउ गर्छन्।
एक नम्बर प्रदेशसभा सचिवालयले सांसदहरूलाई ४५ हजार तलबको व्यवस्था गरेको छ। त्यस्तै बिजुलीपानीमा १५ सय तथा सञ्चार खर्चको रकम १५ सय गरी हरेक सांसदले नियमित पाउने सेवासुविधा ४८ हजार हो।
यसमा घरभाडाबापत्को १५ हजार जोड्दा ६३ हजार हुन आउँछ। त्यस्तै बैठक बसेको दिन सांसदहरूले तलबभन्दा बाहेक बैठक भत्ताबापत् ७५० रूपियाँ पाउँदै आएका छन् भने सदनसम्म आउनका लागि २५० रूपियाँ यातायात खर्च पाउँछन्।











प्रतिक्रिया