चन्द्रगढी एयरपोर्ट स्तरोन्नति, जमिनको मु–आब्जा मूल्याङ्कन अन्तीम चरणमा

0
Shares

उत्तम नेपाल, भद्रपुर ।
विमानस्थल स्तरोन्नतिका लागि अनुमानित १२ विघा जमिन रोक्का गरेको एकवर्षमा मु–आब्जा मूल्याङ्कन सार्वजानिक अन्तीम चरणमा पुगेको छ ।

झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयको स्तरोन्नतिका लागि ६२ जनाबाट अधिग्रहण गरिएको जग्गालाइ पाँच तहमा वर्गीकरण गरि मूल्याङ्कन मु–आब्जा सार्वजानिक गर्ने तयारी गरेको हो ।

धावनमार्गको पूर्वमा भद्रपुर– धुलाबारी सडकबीचको जग्गा ,जग्गामा निर्माण भएका घरटहरा तथा अन्य संरचनाहरु रहेका छन् ।

बाटो, खेती, खोलाले छुएको लगायत बनोट तथा जग्गाको अवस्थालाइ हेरेर छुट्टाछुट्टै पाँच भागमा वर्गीकरण गरि मूल्याङ्कन गरिएको नागरिक उड्डयन कार्यालय चन्द्रगढीका प्रमुख पूर्ण चुडालले बताए ।

मालपोतमा तिरेको राजस्व, बैङ्कबाट लिएको ऋण, नगरपालिकामा तिरेको एकीकृत सम्पत्ती कर , जमनिको आसपासमा चलेको किनबेच लगायतलाइ आधार मानेर मूल्याङ्कन तय गरिएको प्रमुख चुडालले बताए ।

पहिलो देखि पाचौ खण्डमा वर्गीकरण गरिएका जग्गालाइ उनिहरु विस्थापित नहुने गरी नजिकै स्तान्तरण हुने खालको मूल्य तोकिएको उनको भनाइ छ । घर संरचनालाइ भने भवन डिभिजनले केहीदिन भित्र मूल्याङ्कन टुङ्गो लगाउने चुडालको भनाइ छ ।

स्तरोन्नतिको लागि आएको बजेटलाइ सदुपयोग गर्न रात दिन खटेर जग्गाको मु–आब्जा टुङ्गो लगाइएको उनले जनाए । अहिले यति नै रकम हो भन्ने निश्चित भइनसकेपनि प्रकृया भने अन्तीम चरणमा पुगेको उनले बताए । यस्तो प्रकृया ढिलो नै हुने उनको बुझाइ थियो ।

झापाको साविक चन्द्रगढी गाविस – ७ (हाल भद्रपुर नगरपालिका ८ र ९ ) भएपनि अधिग्रहण गरिएको जग्गा भने स्रेस्ता भद्रपुर – १० मा छ । जग्गालाई विमानस्थलको स्तरोन्नतिका लागि ०७३ मङ्सीर ८ गते मन्त्रीस्तरको निर्णयले स्थायी रुपमा जग्गा प्राप्ती गर्नको लागि सो क्षेत्रलाई निर्णय गरेको थियो ।

धावनमार्गको पूर्वमा विमानस्थलको उत्तर र दक्षिणमा भएको तारवार तथा पूर्वमा भद्रपुर– धुलाबारी सडकबीचको जग्गा ,जग्गामा निर्माण भएका घरटहरा तथा अन्य संरचनाहरु समेत स्थायी रुपले प्राप्त गर्नुपर्ने भएकोले जग्गा प्राप्ती ऐन २०३४को दफा ९,१० र ११ बमोजिम सो क्षेत्रभित्र पर्ने सम्बन्धित जग्गाधनीले म–ुआब्जा दावी गर्न ०७४ माघ १२ गते ३५ दिने जग्गा प्राप्ती सम्बन्धि सूचना जिल्ला प्रशासन कार्यालय झापाले प्रकाशित गरेको थियो ।

प्रकाशित सूचनामा सबुत प्रमाणसहित रितपूर्वको निवेदन चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा पेश गर्न जानकारी गराइएको थियो । अधिग्रहण गरिने जग्गामा ६० जना जग्गाधनीको नामसहित र दुइकित्तामा श्रेस्ता फेला नपरेको उल्लेख छ ।

प्रकाशित सूचनामा जम्मा क्षेत्रफल मध्ये एयरपोर्टले लिने ११ विघा ८ कठ्ठा साढे १६ धुर उल्लेख गरिएको छ । सो क्षेत्रमा कृष्ण देवी कानू,मदन राई, कुमारी स्वर्णीका ,कल्पना राई र गङ्गा देवी न्यौपानेको घर रहेका छन् भने अन्य जग्गा खाली रहेको छ ।

जग्गा प्राप्तीको प्रक्रिया लामो हुने भएकोले केही ढिलाइ भएपनि अब टुङ्गो लागेको जग्गा प्राप्ती मूल्याङ्कन निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । जग्गाधनीहरुको मागलाइ पुरा गर्न नसकिएपनि उनिहरुलाइ मर्का नपर्ने गरी मूल्य निर्धारण गरिएको संयोजक तथा प्रजिअ दाहालले बताए ।

घरहरुको विषयमा भवन डिभिजनले केही दिनमा टुङ्गो लगाउने उनले जनाए । जग्गा प्राप्ती मूल्याङ्न निर्धारण उपसमितिले अन्तीम प्रतिवेदन बुझाइसकेकोले यही महिनाको २० गते भित्र मूल्याङ्कन सार्वजानिक गरिने उनले बताए । गृह मन्त्रालयबाट सार्वजानिक गरिने भएकोले त्यही मूल्याङ्कन अन्तीम हुने उनको भनाइ छ । मन्त्री स्तरीय वैठकले नै निर्णय गर्नु पर्ने भएकोले बढी समय लाग्नु जायज भएको उनले जनाए ।

जग्गाधनीको एयरपोर्ट गेटमा विरोध सभा

जग्गा रोक्का गरेको एक वर्षमा पनि मु–आब्जा सम्बन्धी कुनै जानकारी जग्गा धनीलाइ नगराएको भन्दै विरोध जनाएका थिए । जग्गा रोक्का भएका जनताले एयरपोर्टको मुल गेटमा नाराबाजी गर्दै एकघण्टा धर्ना दिएका थिए ।

चन्द्रगढी विमानस्थल विस्तार पीडित सङ्र्घष समितिकी संयोजक स्वर्णीका सिंको नेतृत्वमा गएको टोलीले जनतालाइ दुःख दिन पाइदैन,कोठे वैठक बन्द गर,हाम्रो जग्गा फुकुवा गर,सरोकारवालासँग छलफल गर,विकासको नाममा सुकुम्बासी बनाउन पाइदैन लगायतका नारा लगाउदै गेटमा धर्ना दिएका थिए ।

धर्नाका कारण केहीवेर सवारी आवत जावतमा समस्या देखिएको थियो । सरकारले मु–आब्जा नदिने हो भने तत्काल फुकुवा गरी जग्गाधनीलाइ सहज वनाउन भन्दै जग्गाधनीले पटक–पटक एयरपोर्ट तथा जिल्ला प्रशासन कार्यालयमा दबाव दिदै आएपनि सुनुवाइ नभएको समितिका सदस्य सोनु कानूले बताए ।

सूचना जारी गरेसँगै जग्गाधनीले सम्पूर्ण प्रक्रिया पूरा गरेपनि हालसम्म एयरपोर्टले कुनै आधिकारिक जानकारी नगराएको कानूको आरोप छ । मु–आब्जा आउछ भनेर म्याद दिएको पटक–पटक भाका नाघिसकेको उनिहरुले गुनासो पोखे ।