भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ नेपाली चेलीको उद्दार

0
Shares

काठमाडौं । छिमेकी मुलुक भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्दार गरी मंगलबार काठमाडौं ल्याइएको छ ।

भारतको अहमदावाद र बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्दार गरी काठमाडौं ल्याएको हो ।

भारतस्थित नेपाली दूतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुलाई उद्दार गरी काठमाडौं ल्याउन सफल भएको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिए ।

समितिले पछिल्लो एक महिनामा भारतको विभिन्न स्थानबाट अफ्रिकी मुलुकमा बेचिन लागेकी ९१ जना चेलीहरुको उद्दार गरिएको दावी पनि गरेको छ ।

उद्दारबारे जानकारी दिदै अध्यक्ष बालकृष्ण पाण्डेले भने, ‘ उक्त नेपाली चेलीहरुलाई उद्दार गर्नेक्रममा दलालहरुसँग नक्कली कागजपत्रसमेत बरामद गरि नेपाल सरकारसँग उनीहरुलाई कडा कारवाही गर्ने माग गरेका छौं ।’

नक्कली कागजपत्र बनाएर उनीहरुले ती चेलीहरुलाई अफ्रिकाको डान्सबारमा काम लगाइदिने प्रलोभनमा बेच्न लगेको अध्यक्ष पाण्डेको दावी छ । समितिले उद्दार गरी मंगलबार काठमाडौं ल्याइएका चेलीहरुको व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्ने पनि स्पष्ट पारेको छ ।