सिसी क्यामेराले बनायो दिक्तेलबजार व्यवस्थित

0
Shares

रामधन राई, खोटाङ ।
सिसी क्यामेरा जडान गरिएपछि खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार व्यवस्थित वन्दै गएको छ । जथाभावी सवारी साधन पार्किङ गर्ने, निर्माण सामाग्री सडकमै राख्ने आदि जस्ता क्रियाकलापले अस्तव्यस्त देखिने दिक्तेलवजारको विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिएपछि स्वस्फुर्त व्यवस्थित बन्दै गएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलबजारको मुख्य–मुख्य चौकमा सिसी क्यामेरा जडान गरिएपछि सार्वजानिक स्थलमै धुम्रपान तथा मादक पदार्थ सेवन गर्ने, असभ्य व्यवहार गर्ने लगायतका गलत क्रियाकलाप स्वतः घटेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी राजकुमार केसीले बताउनुभयो ।

बजार क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यले बजारका १२ स्थानमा एक साताअघि सिसी क्यामेरा जडान गरिएको केसीको भनाई छ । सिसी क्यामेरा जडानपछि सडक पेटीमा व्यापारिक सामान राखेर गरिने बिक्री÷वितरण गर्ने कार्य समेत बन्द भएको छ ।

चोरी÷डकैती लगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्नलाई पनि सिसी क्यामेरा जडान गरिएको नगर प्रमुख दिपनारायण रिजालले बताउनुभयो । बजार क्षेत्रमा हुने हरेक क्रियाकलाप सिसी क्यामेराको माध्यमबाट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले निगरानी गर्ने रिजालको भनाई छ । नियम विपरितको कार्य गर्ने जो कोही उम्कने अवस्था नभएको नगर प्रमुखले जनाउनुभयो ।

दक्तेल रुपाकोट नगरपालिकाको दश लाख रुपैंयाँको लगानी गरी बजार क्षेत्रका १२ ठाउँमा सिसी क्यामेरा जडान गरिएको जनाइएको छ ।

नगरपालिकाले जडान गरेको सिसी क्यामेराले बजारको सुरक्षामा समेत सघाउ पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । सिसी क्यामेरा चौबीसै घण्टा सञ्चालनमा रहने हुनाले दिउसो वा राति जुनसुकै समयमा भएका सबै गतिविधिको रेकर्ड रहने केसीले वताउनुभयो ।

सिसी क्यामेरा अभावमा यसअघि दिक्तेलबजारमा दिनदहाडै आपाराधिक क्रियाकलाप भए पनि दोषी पत्ता लगाउन गाह्रो हुने गरेको प्रहरीले जनाएको छ ।