ज्यान मार्ने धम्की दिँदै हस्ताक्षर गराएको भन्दै कारबाहीको माग

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङमा पदबाट हटाइएको शिक्षकलाई पुनः बहाली गराउन जबरजस्ती हस्ताक्षर गराएको भन्दै हस्ताक्षर गराउनमा संलग्नलाई कारबाहीको माग गरिएको छ ।

गत मंसिर –७ गतेबाट पदमुक्त गराइएको शिक्षक कविता कटवाल (चौहान)लाई पुनः बहाली गराउन वडाअध्यक्ष लगायतको समूहले जबरजस्ती हस्ताक्षर गराएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित जालपा प्राथमिक विद्यालयका व्यवस्थापन समिति सदस्य शान्ता दर्जीले विज्ञप्तीमार्फत यस्तो माग गर्नुभएको हो ।

पदबाट हटाइएकी शिक्षक चौहानलाई पुनः बहाली गराउन वडा नम्बर–७ का वडाअध्यक्ष महन्त राई, वडा नम्बर–८ का वडासदस्य बलिरत्न राई, अन्नपूर्ण आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जेपी राई लगायतले जबरतस्ती हस्ताक्षर गराएको विज्ञप्तीमा उल्लेख छ । रातको समयमा आफ्नो घरमा आएर ज्यान मार्ने धम्कीसहितको डर÷त्रास देखाएर बैठक पुस्तिका तथा अन्य कागजातमा हस्ताक्षर गराएको भन्दै उक्त हस्ताक्षरलाई मान्यता नदिन सदस्य दर्जीले सोमबार विज्ञप्तीमार्फत माग गर्नुभएको हो ।

दलित महिला भएकै कारण आफूलाई जबरजस्ती विद्यालय व्यवस्थापन समितिको निर्णयमा हस्ताक्षर गराएको विज्ञप्तीमा उल्लेख छ । आफुलाई त्रासपूर्ण अवस्थामा हस्ताक्षर गराईएको विज्ञप्तीमा उल्लेख छ । दर्जीको हस्ताक्षर भएको विज्ञप्तीमा निर्णयमा जबरजस्ती हस्ताक्षर गराउने व्यक्तिहरुबाट आफ्नोे ज्यान असुरक्षित हुने भन्दै सुरक्षा गरिदिन गाउँवासी र सुरक्षा निकायलाई अनुरोध समेत गरिएको छ ।

आरोपित समूहले पुस–६ गते शिक्षक चौहानको पुनः बहालीका लागि गराएको हस्ताक्षरको बारेमा गाउँलेबाट भोलिपल्ट मात्र थाहा पाएको सदस्य दर्जीले जनाउनुभएको छ ।

शिक्षक चौहानका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्य अन्यौलमा परेको दर्जीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । शिक्षक चौहानका कारण बालबालिकाको भविष्यमाथि भएको खेलवाडको विषयमा सम्बन्धित निकायले तत्काल ध्यान दिन जरुरी रहेको विज्ञप्तीमा भनिएको छ ।

शिक्षक चौहानले यसअघि आफूखुसी विद्यालय सञ्चालन गर्ने, बिना जानकारी १५ दिनभन्दा बढीसम्म विद्यालय बन्द गर्ने, समितिलाई जानकारी नदिइ निर्णयहरु गराउने लगायतको आरोप लागेको थियो । शिक्षक चौहान गत कातिक–७ गतेदेखि अहिलेसम्म विद्यालयमा अनुपस्थित छिन् ।

यस विषयमा वडाअध्यक्ष राईले कुनै प्रतिक्रिया दिनुभएन ।