नियम विपरीतका अटो सञ्चालनमा रोक

0
Shares

धनवीर दाहाल, रुकुम
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले नगरक्षेत्रमा नियम विपरीत सञ्चालनमा रहेका अटोरिक्सा नियन्त्रणमा लिएको छ । गत मंसिर १५ गते बसेको नगर यातायात व्यवस्थापन समितिको निर्णयको पालना नगरेको भन्दै नगरप्रहरीले अटो नियन्त्रणमा लिएको हो ।

नगरप्रमुख गोर्खबहादुर केसी संयोजक रहेको नगर यातायात व्यवस्थापन समितिको बैठकले सबै रुटको भाडादर कायम गर्नुका साथै रुट परमिट लिनुपर्ने, ४ जनाभन्दा बढि यात्रु राख्न नमिल्ने, रिक्सा चालकको अनुमति पत्र, ब्लु बुक, विमा हुनुपर्ने, तोकेको स्थानमा मात्र पार्किङ गर्नुपर्ने लगायतका निर्णय गरेको थियो । उक्त निर्णयहरु कार्यान्वयनका लागि सूचना जारी गरेपनि अटेर गरेपछि अटो नियन्त्रण गर्न बाध्य भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो ।

नियन्त्रणमा लिएका अटोरिक्साहरु रिक्साधनीले सबै प्रक्रिया पूरा गरेपछि मात्र फिर्ता गरिने नगरपालिकाले जनाएको छ । एउटा रिक्साले भने तत्काल प्रक्रिया पूरा गरेकोले फिर्ता गरिएको छ । विशेषगरी नगरपालिकामा राजश्व बुझाउन बाँकी रहेका र आफ्नो सवारीचालक अनुमति पत्र नभएका अटोहरु बढी रहेका छन् ।