धनवीर दाहाल, रुकुम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया तल्लो तहसम्म नपुग्दा गुनासो बढेको छ । स्थानीय तहका एकीकृत पार्टी कमिटीहरु नबन्दा सरकारको कामकारवाही समेत प्रभावकारी हुन नसकेको स्थानीयले गुनानो गरेका हुन् ।
रुकुम पश्चिममा जारी रहेको नेकपाको सुदृढ पार्टी र जनमुखी सरकार निर्माण अभियानको क्रममा गाउँमा हुने कार्यक्रममा स्थानीयले जनप्रतिनिधिहरु निर्वाचनमा गरेका रोजगारी, विकास निर्माण लगायतका प्रतिवद्धता पूरा गर्ने तर्फ अग्रसर नभएको गुनासो समेत गरेका छन् । पार्टी कमिटी निर्माणलाई गति दिनुपर्ने र समावेशीता र पार्टीमा गरेको योगदानलाई मध्यनजर गरेर एकता प्रक्रिया अगाडि बढाउन कार्यकर्ताले सुझाव दिएको नेकपा केन्द्रिय सदस्य तथा अभियानका आठविसकोट–बाँफिकोट कमाण्ड संयोजक बसन्त शर्माले बताउनुभयो । स्थानीय सरकारले विगतमा जनसरकारले गरेका घरजग्गा रजिष्ट्रेशनको विवादलाई सल्टाउनुपर्ने र विगतमा निर्माण गरिएका सडक लगायतका योजनाहरुको मर्मत गर्नुपर्ने सुझाव समेत दिएको उहाँको भनाई छ । शर्माको टोलीमा नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य एवं बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी लगायत वडाध्यक्षहरु र पार्टीका स्थानीय कार्यकताहरुको सहभागिता रहेको छ ।
त्यस्तै आफूहरु वडा तहमा पुगेर अन्तक्र्रियात्मक कार्यक्रम गर्दा छिटो पार्टी संगठन बनाएर सरकारको काम प्रभावकारी बनाउन स्थानीयले सुझाव दिने गरेको नेकपाका केन्द्रिय सदस्य तथा अभियानका मुसिकोट–त्रिवेणी कमाण्ड संयोजक शेरबहादुर केसीले बताउनुभयो ।
स्थानीयका कतिपय समस्या र सुझावलाई सम्बोधनको प्रयास गरिएको र केहीलाई पार्टीको यस अभियानपछि समीक्षा गरेर सम्बोधनको पहल गरिने उहाँको भनाई छ । केसीको टोलीमा कर्णाली प्रदेश सांसद तथा नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य देवी ओली, नेकपाका जिल्ला संयोजक महेन्द्र केसी, पार्टी नेताहरु गणेश केसी, गणेश खड्का, सुन्दर ओली लगायत गाउँपालिका अध्यक्ष एवं नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य झक्कुप्रसाद घर्तीको समेत सहभागिता रहेको छ ।
जिल्लाका सबै स्थानीय सरकारहरु नेकपाकै नेतृत्वमा भएपनि जनताका गुनासा बढेपछि पार्टी तहबाट सुझाव संकलन गरेर सरकारलाई रचनात्मक सहयोग गरिने बताइएको छ । यस अभियानले पार्टी र स्थानीय सरकारलाई समेत थप गति दिने विश्वास गरिएको नेकपाका केन्द्रिय सदस्य, जिल्ला समन्वय समिति रुकुम पश्चिमका संयोजक एवं अभियानका चौरजहारी–सानीभेरी कमाण्डका संयोजक राजकुमार शर्माले बताउनुभयो ।
आफूहरुलाई चुनावमा भोट दिएर जिताएका जनताको अपेक्षा र सुझाव संकलन गरेर त्यस अनुसार अगाडि बढ्न यो अभियानले मद्दत पुगेको उहाँको भनाई छ । यो अभियान लगत्तै जिल्लाभरी पार्टी एकतालाई टुंगोमा पु¥याएर सबै गुनासोलाई सम्बोधन गर्दै जाने शर्माले बताउनुभयो । उहाँको टोलीमा नेकपा कर्णाली प्रदेश सदस्य तथा कर्णाली प्रदेशका सांसद गोपाल शर्मा, चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मा, सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुन, वडाध्यक्षहरु लगायत स्थानीय कार्यकर्ताहरुको सहभागिता रहेको छ ।











प्रतिक्रिया