मंगलग्रहमा हिमताल


लन्डन, (एजेन्सी)
युरोपेली अन्तरिक्ष एजेन्सीले आफ्नो मार्स एक्सप्रेस मिसनमा मंगल ग्रहको एक विशाल हिमताल फेला पारेको छ।
हिउँले भरिएको उक्त खाल्डोको तस्वीर पनि जारी गरिएको छ। वैज्ञानिकहरू कुनै अर्को ग्रहमा फेला परेका हिउँ जमेका खाल्डोमध्यको यो अहिलसम्मकै सबैभन्दा ठूलो भएको बताइरहेका छन्।
१५ वर्षअगाडि प्रक्षेपण गरिएको मार्स एक्सप्रेसको माध्यमबाट प्रायः मंगल ग्रहको हिउँ तथा हिमखण्डको खोजको तस्वीर प्रकाशित गर्दै आइरहेको छ। उक्त विशाल हिमतालको गहिराई ५ हजार ९ सय ५ फिट भएको अनुमान गरिएको छ।
यसमा वर्षैभरि हिउँ भएको अनुमान गरिएको छ। वैज्ञानिकहरूले तापमान बढ्दा र हावा चल्दा यसको सतहमा केही हलचल हुने गरेको अनुमान गरेका छन्। तर, वर्षैभरि उक्त खाल्डोमा हिउँ भने हुने गरेको बताइएको छ।
यसै वर्ष मात्र मंगलग्रहमा चट्टान, पानी, हिँउ र हावाको विचलनका कारण सतहमा हुने गरेको परिवर्तन देखिएको पुष्टि वैज्ञानिकहरूले गरेका थिए। युरोपियन स्पेस एजेन्सीको अभियान मार्स एक्सप्रेसको तर्फबाट पठाइएको तस्वीरबाट यो खुलासा भएका थियो।