पाकिस्तानको पूर्वप्रम सरिफ पुनः जेल चलान हुने


इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफिलाई भ्रष्टाचारको अर्को नयाँ अभियोग लगाएर पुनः कारगार चलान गरिने भएको सोमबार पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छन्।
राजधानी इस्लामावादस्थित भ्रष्टाचारविरुद्धको अदालतले सरिफलाई आफ्नो घोषित सम्पत्तिको हैसियतभन्दा बढी लगानी गरेको अभियोगमा ७ वर्ष लामो काराबास सजाय सुनाएको हो।

शुरूदेखि अहिलेसम्म आफूले कुनै गलत काम नगरेको अडान लिँदैआएका सरिफलाई गत जुलाईमा विभिन्न भ्रष्टचारको अभियोग लगाएर जेल चलान गरिएको थियो। तर, गत सेप्टेमबरमा इस्लामावाद उच्च अदालतले उनको अपिलमाथि विचार गर्दै १० वर्ष लामो काराबास सजाय निलम्बित गर्दै जमानत मञ्जुर गरेको थियो।

सरिफ जेलमा थुनिएको अवस्थामा भएको आम निर्वाचनमा उनको पार्टी पराजित भएको थियो। भ्रष्टाचारविरुद्ध चर्को नारा दिएर चुनावी मैदानमा उत्रेका पूर्वक्रिक्रेटर इमरान खानको पाकिस्तान तेहरिक ई इन्साफ ९पीटीआई० पार्टीले अधिकांश सिट जितेको थियो। सोमबार निर्णय सुनाइने क्रममा इस्लामावादस्थित अदालत परिसर वरपर कडा सुरक्षा प्रबन्ध गरिएको थियो। तर, पूर्वसत्तारुढ पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजले यदि आफ्नो नेतालाई पुनः जेल चलान गरिएको खण्डमा विशाल प्रदर्शन गर्ने र संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ।

अदालत कक्षबाहिर उपस्थित सरिफका समर्थकलाई तितरबितर पार्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार र लाठी चार्ज गरेका थिए। सरिफले भने आफूविरुद्ध राजनीतिक पूर्वाग्रह राखेर अभियोग लगाइएको र त्यसका विरुद्ध आफूले अपिल गर्ने बताएका छन्।

अदालतले भने सरिफले साउदी अरेबियास्थित अल–अजिजिया स्टिल मिलमा लगाइएको आफ्नो लगानीको स्रोत खुलाउन नसकेको बताएको छ। तर, अदालतले संयुक्त अधिराज्यको फ्ल्यागसिपमा रहेको लगानीबारेको मुद्दामा भने प्रमाणको अभाव भएको भन्दै उनलाई सफाइ दिएको छ।

उनीसँगै मुद्दामा मुछिएका उनका दुई छोरा हस्सन र हुस्सेनलाई अदलतले फरार अभियुक्तको सूचीमा राखेको छ। तिनीहरू दुवै अहिले पाकिस्तानमा छैनन्। निर्णय सुनाइएलगत्तै अदालत कक्षभित्रै गिरफ्तार गरिएका सरिफलाई चाँडै नै जेल चलान गरिने अनुमान गरिएको छ।