सिरियाबाट सैनिक फिर्ता गर्ने ट्रम्पको आदेशप्रति म्याक्रोंद्वारा अफसोच व्यक्त


पेरिस, (एजेन्सी)
सिरियाबाट सबै अमेरिकी सैनिक फिर्ता बोलाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलाप्रति फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों अफसोच व्यक्त गरेका छन्।
‘एक सहयोगी भरोसा गर्न लायक हुनुपर्छ।’ –बीबीसीलाई लिएको एक अन्तरवार्तामा म्याक्रोंले बताए। अमेरिकाले इस्लामिक स्टेट ९आईएस० पराजित भइसकको बताएको छ तर ट्रम्पको उक्त दाबी उनका सहयोगी तथा अमेरिकी राजनेताहरूको नजरमा विवादास्पद बनेको छ।

सिरिया र इराकमा आईएसविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनको प्रमुख हिस्सा रहेको फ्रान्सले आफ्ना सैनिक सिरियामा तैनाथ रहने जनाएको छ। करिब २ हजार अमेरिकी सैनिकले सिरियाको उत्तरपूर्व इलाका जिहादी समूहबाट मुक्त गर्न मद्दत गरेका थिए तर अझै पनि केही लडाकू त्यस इलाकामा बसिरहेको बताइएको छ। उक्त समूहले पुनः टाउको उठाउन सक्ने ट्रम्पका आलोचकले बताएका छन् र अमेरिकाका रक्षामन्त्री जिम म्याटिसले यस मुद्दामा राजीनामा दिएका छन्।

चाडमा फ्रान्सेली सैनिकसँगको भेटघाटमा म्याक्रोंले भने– ‘सहयोगी हुनुको अर्थ काँधमा काँध मिलाएर लड्नु हो। यो देशका प्रमुख र सेनाका प्रमुखका लागि सबैभन्दा ठूलो कुरा हो।

ट्रम्पद्वारा बुधबार अचानक गरेको घोषणा र म्याटिसको राजीनामा देखेर रिपब्लिकन समर्थक पनि चिन्तित छन्। आईएसलाई पराजित गर्न अन्तर्राष्ट्रिय गठबन्धनका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत ब्रेट म्याकगर्कले पनि उक्त फैसलाको विरोधमा राजीनामा दिएका छन्।

आदेशमा हस्ताक्षर
सिरियामा इस्लामिक स्टेटविरुद्धको युद्धमा सहायताका लागि तैनाथ अमेरिकी सैनिकलाई फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको पेन्टागनले जनाएको छ। यस विषयमा थप जानकारीबिना अमेरिकी सेनाका एक प्रवक्ताले भने– ‘सिरियाबाट फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको छ।’

अमेरिका तथा विश्वका कयौं नेता र अन्तर्राष्ट्रिय सहयोगीहरूले उक्त कदम उठाउनमा हतार गरेको र यसबाट पहिले नै संकटग्रस्त क्षेत्रमा थप अस्थिर हुन सक्ने आशंका व्यक्त गरेका छन्। केही दिनअगाडि अमेरिकाले अफगानिस्तानबाट पनि आफ्ना आधा सैनिक फिर्ता गर्ने निर्णय गरेको थियो।

रक्षामन्त्रीमा सानहन
अमेरिकी राष्ट्रपति ट्रम्पले रक्षामन्त्री जिम म्याटिसको स्थानमा उपरक्षामन्त्री प्याट्रिक सानहनलाई नियुक्त गर्ने बताएका छन्। म्याटिसले अमेरिकी राष्ट्रपतिसँगको नीतिगत मदभेदका कारण रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन्।

ट्रम्पले ट्विटमा लेखेका छन्– ‘हाम्रा अत्यन्त प्रतिभाशाली उपरक्षामन्त्री प्याट्रिक सानहनले सन् २०१९ जनवरी १ बाट कार्यवाहकमन्त्री पद सम्हाल्ने घोषणा गर्न पाएकोमा म अत्यन्त प्रसन्न छु।’

‘प्याट्रिकसँग उपरक्षामन्त्री र त्योभन्दा अगाडिका पदहरूमा सेवा गर्ने क्रममा योग्यताको लामो सूची रहेको छ। उनी उत्कृष्ट सावित हुनेछन्।’ –उनले लखेका छन्।