नेपाल–भारतबीच इनर्जी बैंकिङ सम्झौता हुँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल–भारतबीच विद्युत् खरिद बिक्री गर्ने सम्बन्धमा भारतको नयाँ दिल्लीमा दुई दिने बैठक हुने भएको छ। बैठकमा इनर्जी बैंकिङ, बुटवल– गोरखपुर अन्तर्देशीय प्रसारणलाइन निर्माणलगायत विषयमा छलफल हुने बताइएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल दिल्ली जाँर्दै छ। नेपालले आगामी दिनमा वर्षा मौसममा बढी हुने विद्युत् भारत निर्यात गर्ने र सुख्खा मौसममा भारतबाट विद्युत् आयात गर्ने गरी इनर्जी बैकिङका विषयमा छलफल गर्न नेपाली टोली भारत जान लागेको हो। केही समयपछि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा इनर्जी बैंकिङलगायतका विषयमा सम्झौता हुने र त्यसैको तयारीका निम्ति यो बैठक गर्न लागिएको बताइएको छ।

यसैबीच नेपालमा बढी भएको विद्युत् भारतलगायत तेस्रो मुलुक निर्यात गर्न सकिँदैन कि भन्ने द्विविधा अन्त्ये भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताउनुभएको छ। मंगलबार मन्त्री पुनले पत्रकार सम्मेलन गरी भारतले ऊर्जा निर्देशिका हालै संशोधन गरेपछि उक्त द्विविधा हटेको बताउनुभएको हो।

भारतले निर्देशिका संशोधन गरेर विद्युत् व्यापारका लागि थप मार्ग प्रशस्त गरेको मन्त्री पुनको भनाइ छ। भारतले सन् २०१६ मा लागू गरेको ५१ प्रतिशतभन्दा बढी शेयर रहेका भारतीय कम्पनीको लगानीमा निर्माण गर्ने आयोजनाको मात्रै विद्युत् खरिद गर्ने प्रावधानलाई खारेज गर्दै नयाँ निर्देशिका लागू गरेको हो।