मध्यपहाडी लोकमार्गको पर्वत खण्ड ६ घण्टा बन्द हुने

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
सडक फराकिलो र स्तरोन्नतीका लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पुस १२ गते बिहीबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ।
सडक बिस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि डिमुवाबजारसम्म दैनिक छ घण्टा बन्द गर्ने निर्णय भएको हो। जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा सोमबार बसेको बैठकले बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो। लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीरमा सडक फराकिलो बनाउने काम गर्न सडक बन्द गर्न लागिएको मध्य पहाडी सडक आयोजनाले जनाएको छ।

‘पर्वतको डिमुवा र नयाँपुलको बीचमा रहेको महभीरमा सडक फराकिलो बनाउन पहरा कटान गर्न दैनिक छ घण्टा सडक बन्द गर्ने निर्णय भएको छ’ आयोजना प्रमुख आशिष थापा मगरले भन्नुभयो। बैठकमा सरोकारवालाहरूले सडक निर्माण कार्यप्रभावित नहुने र यात्रुलाई समेत सास्ती नहुने गरी निर्माण अगाडि बढाउन सुझाव दिएका छन्। जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले आयोजनाको काम तोकिएकै समयमा सक्नुपर्ने तर नागरिकलाई समेत मर्का नपरी काम गर्न आग्रह गर्नुभयो। ‘नागरिकलाई दुःख नहुने गरी सकेसम्म वैकल्पिक सडक बनाएर काम गर्नुपर्छ,’ उहाँको भनाइ थियो।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सडक विस्तारको काम समयमा सक्ने वातावरण बनाउन आग्रह गर्नुभयो। आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ। कम्पनीले ८३ करोड ९८ लाख रुपियाँमा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ। अहिले सम्म ३० प्रतिशत काम सकिएको म्यानेजर गोविन्दप्रसाद भुसालले जानकारी दिनुभयो।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मत तीव्र पारिरहेको छ। लोकमार्ग पूरै नयाँ स्वरूपमा विस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भइरहेको छ। तीन वर्षमा पोखरा–बागलुङ खण्डको धेरैजसो भाग नयाँ बन्नेछ।