नेपाल समाचारपत्र, रामेछाप
रामेछाप सदरमुकाम मन्थली बजारमा गुणस्तरहिन मासु खुलेआम बिक्री हुने गरेको पाइएको छ। बजारका केही मासु पसलले गुणस्तरहिन मासु बिक्री गरेको पाइएका हो।
सोमबार सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईको नेतृत्वमा गएको संयुक्त मासु पसल अनुगमन टोलीले जुनेश मासु पसलबाट लामो समयदेखि फ्रिजमा राखेर बिग्रेको ४६ किलो मासु बरामद गरेको छ। सदरमुकाम रहेको मुख्य बजारस्थित मदन–आश्रित चोक नजिकै रहेको जुनेश मासु पसलले कुखुरा र खसीको मासुलाई अनुगमन टोलीले दुई हजार जरिवानासमेत गरेको छ। त्यस्तै अर्को कृषि विकास बैंक नजिक रहेको न्यू फेमस मिट सपबाट राँगा, कुखुराको गुणस्तरहिन मासु, उत्पादन मिति नलेखिएको ससेज बरामद गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ।
न्यू फेमस मिट सपलाई व्यवसाय नवीकरण नगरेकाले ५ हजार जरिवानसमेत गरिएको छ। रेडक्रस लाइनमा रहेको मन्थली मासु पसलबाट पनि कुखुराको गुणस्तरहिन मासु बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिनुभयो। बजारमा ताजा मासुको अभाव भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले बजारमा रहेका मासु पसलमा अनुगमन गरेको हो। प्रशासनले मासुसहित अन्य खाद्य पदार्थमा नियमित रूपमा अनुगमन प्रक्रिया अगाडि बढाउने बताएको छ।











प्रतिक्रिया