विराटनगर, (नेस)
क्यानडा पठाइदिने भन्दै प्रदेश नम्बर १ का ३० जना युवासँग झापाको गौरीगञ्ज–४ भवानीपुरका गणेशप्रसाद गिरी र दीपेन्द्रकुमार झालगायतका ३ जना एजेन्टले डेढ करोड लिएर फरार भएका छन्।
पीडित युवाले गौरीगञ्जमा रहेको गिरी र झाको सम्पत्तिबाट आफूहरूलाई उक्त रकम दिलाइदिन माग गरेका छन्।
मोरङको सुनबर्सी नगरपालिकाका १४ जना र झापा, सुनसरीलगायतका जिल्लाबाट ३० जना युवालाई विदेश पठाइदिने भन्दै एजेन्टहरूले ठूलो रकम ठगी गरेपछि उनीहरूको विचल्ली भएको छ।
यसरी ठगिनेमा हंशराज राजवंशी, दयानन्द सहनी, कंशराज राजवंशी, पञ्चन राजवंशी, प्रेमलाल राजवंशी, नगेन्द्रप्रसाद राजवंशी, अजयदेवगण राजवंशीलगायतका युवा छन्।
झापा गौरीगञ्जका गणेशप्रसाद गिरी, दीपेन्द्रकुमार झा र बाँकेका निरञ्जन पुरीले ३० जनासँग प्रतिव्यक्ति ५ लाखका दरले रकम ठगेको पीडितहरूले बताएका छन्। उनीहरूले आफूहरू ठगिएको विषयमा श्रम तथा रोजगार कार्यालय विराटनगरलगायत विभिन्न कार्यालयमा उजुरीसमेत दिएका छन्।
पीडितहरूले एजेन्टलाई आइएमीमार्फत रकम बुझाएको बताएका छन्। रकम लिने एजेन्ट भने रकम ठगेर सम्पर्कविहीन भएको पीडितहरूले दाबी गरेका छन्। गरीब, विपन्न वर्गका युवाले ऋण काढेर क्यानडा जान किस्ताबन्दीरूपमा एजेन्टलाई दिएका थिए। अहिले उनीहरू पीडामा छन्।
गौरीगञ्ज प्रहरी थानामा एजेन्टहरूलाई पैसा दिँदै गरेको भिजुअलसहित आफूहरू ठगिएको उजुरी दिए पनि प्रहरीले बेवास्ता गरेकाले पीडक फरार हुन पाएको उनीहरूको भनाइ छ। यता श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ अधिकृत प्रेमप्रसाद संजेलले ठगी मुद्दा दर्ता भइसकेको भन्दै नेपालगञ्जमा बसेर ठगी गर्नेलाई बाँकेका प्रमुख जिल्ला अधिकारी र अदालतलाई पत्र पठाइसकेको र झापाबाट ठगी गर्नेलाई पनि झापा अदालत र प्रशासन कार्यालयमा पत्र काटिदिइसकेको बताउनुभयो।
पीडक गिरी र झाको जग्गा गौरीगञ्जमा रहेकाले श्रम कार्यालय विराटनगरले मालपोत कार्यालय दमकलाई अनलाइनबाट चिठी तत्काल पठाएमा जग्गा रोक्का हुने र पीडितलाई न्याय दिलाउन क्रमिकरूपमा लाग्दा हुने बताउनुहुन्छ। पीडितहरूलाई न्याय दिलाउन र पीडकलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित सबै निकाय तदारुकताका साथ लाग्नुपर्ने देखिन्छ।











प्रतिक्रिया