‘कांग्रेसले लाखाैँमा र कम्युनिस्टले अर्बाैँमा भ्रष्टाचार गरेका छन्’

0
Shares

यमलाल भुसाल, बुटवल
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ महिना सरकार टिकाउन सम्मस्या भएको दाबी गर्नुभएको छ। अरू कसैका कारणले नभई आफ्नै पार्टीका नेताहरूका कारण प्रधानमन्त्री ओलीलाई ६ महिना पनि सरकार टिकाउन कठिनाइ भएको प्रवक्ता प्रकाण्डले बताउनुभयोे।

क्रान्तिकारी पत्रकार संगठन नेपालले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा उहाँले इतिहासकै दुई तिहाइको बलियो जनसमर्थन पाएको सरकार भए पनि आफ्नै पार्टीभित्रका नेताहरूका कारण ओलीलाई अब ६ महिना सरकार टिकाउन हैरानी भएको स्पष्ट पार्नुभयो। सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुनुभएका प्रकाण्डले अहिलेको सरकार र सरकारका मन्त्रीहरू विगतको भन्दा झनै बढी भ्रष्टाचारी भएको बताउनुभयो। उहाँले विगतमा कांग्रेसका मन्त्रीहरूले लाख करोडमा भ्रष्टाचार गर्ने गरेकोमा अहिले कम्युनिस्ट पार्टीका मन्त्रीहरूले अरबौंमा भ्रष्टाचार गरिरहेका छन् यसले कम्युनिस्ट पार्टीप्रति जनताको वितृष्णा जगाएको धारणा राख्नुभयो।

वर्तमान सरकार जनताप्रति उत्तरदायी नभई दलाल र पूँजीपतिको पक्षमा रहेको आरोप लगाउँदै उहाँले कम्युनिस्ट पार्टीको दुहाइ दिने सरकारले विश्वमा नै बेइज्जती कमाएको धारणा राख्नुभयो। उहाँले जनताले आशा गरेका एउटा पनि काम वर्तमान सरकारले गर्न नसकेको आरोप लगाउँदै प्रवक्ता प्रकाण्डले समृद्ध नेपाल र सुखी नेपालीको नाराले मुलुकलाई बर्बादीतर्फ उन्मुख गराएको टिप्पणीसमेत गर्नुभयो।

उहाँले संघीय सरकारसँग कटौरामा भिख माग्ने परिपाटीको संघीयता संघीयता नै नभएको र यस्तो संघीयता मुलुकका लागि आवश्यक नभएको जिकिर गर्नुभयो। नेकपाका अध्यक्ष प्रचण्ड भारतका नाइकेलाई भेट्न श्रीमती सीताको औषधी गर्ने नाममा जाने गरेको आरोप लगाउँदै उहाँले प्रचण्डले केपी ओलीसँग निहुँ खोजे ओलीले समाप्त पार्ने चेतावनीसमेत दिनुभयो। आफू सिद्धिने भएर एमालेको टाँगमुनि छिरेका प्रचण्डले फूर्ति नलगाउन प्रकाण्डले आग्रह गर्नुभयो।